कुवेतमा बाल्कोनीमा लुगा सुकाउनेलाई ५ सय दिनारसम्म जरिवाना

एजेन्सी

शुक्रबार, ३१ असार २०७९, १० : ०३
कुवेतमा बाल्कोनीमा लुगा सुकाउनेलाई ५ सय दिनारसम्म जरिवाना

कुवेत । कुवेतमा बाल्कोनीमा लुगा सुकाउनेलाई १०० देखि ५०० दिनार जरिवाना गरिने भएको छ । यहाँको नगरपालिका काउन्सिलले सार्वजनिक गरेको सरसफाइ र फोहोर ढुवानी सम्बन्धी कानुनको मस्यौदामा यस्तो प्रस्ताव गरिएको छ। जसमा सडकबाट देखिने गरी बाल्कोनीमा लुगा, गलैँचा झुन्ड्याएर राख्नेलाई जरिवानाको व्यवस्था गरिएको छ।

मस्यौदा ऐनको दफा चारले गलैँचा र फर्निचर सफा गर्न वा सडक र सार्वजनिक स्थानमा रहेको बाल्कोनीमा झुन्डाएर लुगा सुकाउन निषेध गरेको छ। प्रस्तावित नयाँ मस्यौदा कानुनको सातौँ अनुच्छेद अनुसार फुटपाथ, सडक, सार्वजनिक ठाउँ, पार्क, समुन्द्र किनार र राज्यको स्वामित्वमा रहेको जग्गामा निषेध गरिएको छ।

यस्तै, सडकमा बेवास्ता गरी राखिएका क्षतिग्रस्त सवारीसाधन, डुङ्गा र मोटरहोमहरू सडक, फुटपाथ र सार्वजनिक स्थानहरूमा छोड्न निषेध गरिएको छ। यदि त्यस्तो गरेको भेटिएमा मालिकहरूलाई ४८ घण्टाभित्र आफ्ना सवारीहरू हटाउन चेतावनी दिने, नहटाए सवारी साधन जफ्त गर्ने अधिकार नगरपालिकालाई दिएको र जफत गरेको मितिले तीन महिना बितिसक्दा कसैले दाबी नगरे उल्लङ्घन खर्च तिर्ने गरी बिक्री गरिने जनाएको छ ।

यो मस्यौदासँगै अब कुवेतमा कार्यरत नेपाली कामदारहरुले पनि सचेतता अपनाउनु पर्ने देखिएको छ । त्यहाँ कार्यरत नेपालीहरु कति पयको बस्ने ठाउँ क्याम्प सडक नजिकै भए र बल्कोनीमा लुगा लगायत अन्य सामान झुन्ड्याएर राखिएको भेटिए जरिवाना तिर्नुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस