जनता समाजवादीका दुई पक्षले बोलाए छुट्टाछुट्टै बैठक

सफल खबर संवाददाता

शनिबार, २५ असार २०७९, १५ : १४
जनता समाजवादीका दुई पक्षले बोलाए छुट्टाछुट्टै  बैठक

काठमाडौं ।विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी नेपालका दुई पक्षले छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक आह्वान गरेका छन्।

असार १३ गतेको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार असार २९ र ३० गते केन्द्रीय समिति बैठक बस्ने तय भएको छ। उक्त निर्णयमा असहमति जनाउँदै संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले पनि केन्द्रीय समितिको छुट्टै बैठक आह्वान गरेको छ।यादव पक्षले वीरगञ्जमा बैठक बस्ने तय गर्दा भट्टराईले काठमाडौँमा बैठक आह्वान गरेका छन्। भट्टराई पक्षले यादवले भन्दा एक दिनअघि असार २८ गतेदेखि बैठक बस्ने तयारी गरेको छ।

भट्टराई निकट मानिने नेता डम्बर खतिवडाले असार २८ गतेदेखि भट्टराई समूहको बैठक बस्ने जानकारी गराए। उनले देशसञ्चारसँग भने, ‘असार २८ गते काठमाडौँमा जसपाको केन्द्रीय समितिको बैठक बस्दैछ। बैठकमा इच्छा हुने सबै केन्द्रीय सदस्य आउनुहुनेछ।’

भट्टराईले काठमाडौँमा पार्टीको नाममा बोलाएको बैठकलाई यादव पक्षले अवैधानिक भनेको छ। वीरगञ्जमा पार्टी केन्द्रीय समितिको बैठक बस्ने अघिल्लो दिन नै डा. भट्टराईले भेला बोलाएपछि यादव पक्षले त्यसलाई अवैधानिक भनेको छ।

जसपा विभाजित हुन लाग्दा अल्पमतमा रहेको भट्टराई पक्षले समानान्तर गतिविधि तीव्र बनाएको भन्दै यादव समूहले असन्तुष्टि जनाएको छ।
यादव निकट मानिने नेता मनिष सुमनले पार्टीको आधिकारीक बैठक वीरगन्जमा बस्ने तयारी गर्दै गर्दा भट्टराईले पनि काठमाडौँमा बैठक बसाउने तयारी गरेको देश सञ्चारसँग बताए।

उनले भने,‘पार्टीको आधिकारिक समूहले बोलाएको केन्द्रीय समिति बैठक बस्ने दिन भट्टराई समूहले पनि काठमाडौँमा बैठक बस्ने तयारी गरेको छ भन्ने हल्ला छ।’नेता डम्बर खतिवडाको अनुसार जसपामा ४ सय ९९ केन्द्रीय सदस्य छन्।

प्रतिक्रिया दिनुहोस