रसुवा । रसुवामा सञ्चालित तीनवटा चिज उत्पादन केन्द्रले वार्षिक ३३ हजार किलोग्राम चिज तथा ११ हजार किलोग्राम मखन उत्पादन गर्ने लक्ष्य लिएको छ ।
यहाँका धञ्चे केन्द्रले ११ हजार पाँच सय किलोग्राम चिज र तीन हजार नौ सय किलोग्राम मखन, चन्दनबारी केन्द्रले आठ हजार पाँच सय किलोग्राम चिज र तीन हजार किलोग्राम मखन तथा गतलाङ केन्द्रले १३ हजार चिज र चार हजार ३०० किलोग्राम मखन उत्पादन गर्ने लक्ष्य लिएको हो ।
लक्ष्य परपूतिृका लाति ती केन्द्रले दैनिक रुपमा आफ्नो कार्य निरन्तर अगाडि बढाइरहेको केन्द्रले जनाएको छ ।
गतवर्ष यी तीनवटै केन्द्रले ३२ हजार किलोग्राम चिज र ११ हजार दुई सय किलोग्राम मखन उत्पादन गरेका थिए । नेपालको जेठो चिज उत्पादन केन्द्र लाङटाङमा भने भौगोलिक विकटता र सञ्चार पहँुच नपुगेका कारण विवरण प्राप्त हुन सकेको छैन ।
दुग्ध विकास संस्थानअन्तर्गत रसुवामा चारवटा चिज उत्पादन केन्द्र सञ्चालित छन् ।
गतवर्ष चौरीको दूध उत्पादनबाट यहाँका ९५ जना किसानले धुञ्चे, चन्दनबारी र गत्लाङ केन्द्रबाट रु दुई करोड पाँच लाख भुक्तानी लिएको दुग्ध विकास संस्थानले जनाएको छ । यसवर्ष भने त्यसमा केही वृद्धि हुने बताइएको छ ।
गतवर्ष उत्पादित चिज तथा मखनबाट रु छ करोड १३ लाख आम्दानी गरेको संस्थानले जनाएको छ । चिज उत्पादनका लागि दूध दिने चौरी गाईको संख्या यहाँ एक हजार ४०० रहेको चौरीपालक किसान सोनाम घलेले बताउनुभयो ।
फ्याटको हिसाबले दूधको प्रति युनिट मूल्य रु १२ देखि ८४ सम्म रहेका छन् । दूधको उचित मूल्य पाउन थालेपछि चौरीपालन व्यवसायतर्फ किसानको आकर्षण बढ्दै गएको धुन्चे चिज उत्पादन केन्द्र कुना खर्कका वरिष्ठ केन्द्र प्रमुख पूर्णबहादुर जिरेलले बताउनुभयो ।
दुग्ध विकास संस्थानले यस वर्षका लागि प्रति किलोग्राम चिजको मूल्य रु एक हजार छ सय तथा मखनको मूल्य रु एक हजार कायम गरेको छ, गतलाङ केन्द्रका प्रमुख धनबहादुर जिरेलले भन्नुभयो, “ संस्थानको लक्ष्य परिपूर्तिका लागि चिज उत्पादनमा विशेष जोड दिइएको छ ।”
गतवर्ष प्रति किलोग्राम चिजको मूल्य रु एक हजार ४०० कायम गरिएको थियो । मखनको मूल्य भने यथावत् नै छ ।
प्रत्येक वर्ष वैशाख १ गते देखि कात्तिक १५ गते सम्म चिज उत्पादनको उपयुक्त समय मानिन्छ । चौरी गाई वर्षेनी चैतको अन्तिम हप्तामा ब्याउने भएकोले साढे छ महिना मात्र चिज उत्पादन गर्ने गरिन्छ । गोसार्इंकुण्डको काखमा रहको चिज उत्पादन केन्द्र चन्दनबारीमा चौरीको दूधबाट उत्पादित चिज गोसाईंकुण्डबाट फर्केका भक्तजनले प्रसादीको रुपमा समेत खरिद गरी लाने गरेको चन्दनबारीका केन्द्रका प्रमुख छत्रबहादुर तामाङले बताउनुभयो ।
समुद्री सतहदेखि दुई हजार दुई सय मिटर भन्दा माथि जंगलमा औषधिजन्य घाँसपात खाएका चौरीको दूधबाट बनेका चिज खाँदा स्वास्थ्यबर्धक हुने चिज पारखीको विश्वास छ ।(रासस)
प्रतिक्रिया दिनुहोस