काठमाडौँ ।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीहरुको ‘नोट चल्ने तर भोट नचल्ने’ अवस्था अन्त्य गर्नुपर्ने बताएका छन्।मंगलबार विदेशमा रहेका नेपालीहरुले पनि मताधिकारको प्रयोग गर्न पाउनुपर्ने कुराको सुनिश्चितताका लागि पार्टीको तर्फबाट निर्वाचन आयोग पुगेका महामन्त्री शर्माले यस्तो बताएका हुन्।
महामन्त्री शर्माले नेपाल बाहिर रहेका ४० लाख नेपालीहरुको भावना गाँस्ने कुरालाई मध्यनजर गरेर यो काम अघि बढाइएको बताए। उनले भने, ‘बाहिर रहेका ४० लाख नेपालीहरुको भावना गाँस्ने कुरा हो र नेपालको समुन्नतीमा जोडिने कुरा हो। विदेशमा बसेका नेपालीको भोट चल्ने दिन पनि हामीले बनाउनु पर्छ। नोट चल्ने बनाएर मात्रै हुँदैन।’
उनले निर्वाचन आयोगसँग मतदाता नामावलीसँग सम्बन्धित त्यसमा पनि विशेष गरेर विदेशमा रहेका नेपालीहरुको मतदानको अधिकारसँग सम्बन्धित विषयमा छलफल भएको बताए।
‘सर्वोच्च अदालतले सरकार र निर्वाचन आयोगको नाममा विदेशमा रहेका नेपालीहरुको मताधिकारलाई सुरक्षित गर्न, प्रबन्ध गर्नको लागि आवश्यक कानुन निर्माण गर्ने र आवश्यक प्राविधिक बन्दोबस्त गर्नका लागि आदेश जारी गरेको थियो,’ उनले भने, ‘नेपाली कांग्रेसको केन्द्रिय समितिको सर्वोच्चको फैसलालगत्तै बसेको बैठकले पनि विदेशमा बसेका नेपालीहरुको मतदानको अधिकारलाई सुनिश्चित गर्नेबारेमा सरकारको ध्यानाकर्षण गराएको थियो। हामीले भर्खरै यसलाई उठाएका होइनौँ, विगतमा उठाउँदै आएको मुद्दालाई अली गम्भीर रुपमा निर्णयमा पुर्याउने रुपमा हामी छलफलमा जुटेका छौँ।’
महामन्त्री शर्माले भेटमा प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचन ऐनलाई सच्याउने कुरामा संसदमा राजनीतिक दलहरुसँग समझदारी गरी पेस गर्न र पास गर्ने वातावरण मिलाइदिन आग्रह गरेको बताए।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र शर्माले आज निर्वाचन आयोग, नेपालका प्रमुख निर्वाचन आयुक्त थपलियासँग विदेशमा रहेका नेपालीहरुले पनि आगामी निर्वाचनमा मताधिकारको प्रयोग गर्न पाउनुपर्ने भन्दै ध्यानाकर्षण गराएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ असार २०७९, १७ : ३४
लेखकबाट थप