काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान सरकार र गठबन्धन आफ्नै कारणले ढल्ने दाबी गरेका छन्।
आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्ताे दावी गरेका हुन्।वर्तमान सरकारको एक वर्ष पुग्न लागेको उल्लेख गर्दैै यो एक वर्षमा सरकारले कुनै राम्रो काम गर्न नसकेको आराेप लगाए।
उनले भने, ‘सरकारको बारेमा गम्भीर समीक्षा गर्न जरुरी छ। यो सरकार जनमतको कारण जन्मिएको होइन, यो परमादेशबाट जन्मिएको सरकार भएकोले यसबाट हामीलाई कुनै आशा र अपेक्षा थिएन। तर, जनतामा यो सरकारले केही गर्ला कि भन्ने भ्रम थियो। यो सरकार आएपछि पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढेको छ। यति धेरै बेथिति र भद्रगोल छ। मूल्यवृद्धि नेपालको इतिहासमा अहिले धेरै भएको छ। निर्माणको क्षेत्रमा पनि २५ प्रतिशतको दरले मूल्य बढेको छ। सरकारले घोषणा गरेका राहतका कार्यक्रम पनि सान्दर्भिक छैनन्। इण्डक्सन चुलोको कुरा गर्दा पनि यो खर्चिलो छ।’
नेता बस्नेतले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल वायु सेवा निगमका निवर्तमान अध्यक्ष युवराज अधिकारीलाई अश्लील गाली गरेको र दुर्वव्यवहार गरेको कुरा बाहिर आउँदा पनि पार्टी र प्रधानमन्त्रीले आलेलाई कारबाही गर्न नसकेको गुनासो पोखे।
उनले भने, ‘पर्यटनमन्त्रीको राजीनामा आउला भनेको त, उल्टै कुटाइ खाने युवराज अधिकारी हिजो निलम्बनमा परे। लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वली व्यक्तिको घरमा जान्छिन् र हातपातको तहमा उत्रिन्छन्। तर, उनलाई कारबाही गर्ने वा राजीनामा दिने कुरै छैन। वलीलाई कारबाही गर्नको लागि प्रदेश सरकारले कुनै पहल लिएन। यो दुःखद् विषय हो।’
बस्नेतले एमालेविहीन राज्यको कल्पना गर्ने कुरामा गठबन्धन लागि परेको आरोप पनि लगाए।
‘एमाले जनताको मन र मुटुमा रहुन्जेलसम्म कहिल्यै पनि सकिँदैन। एमाले सदनमा ठूलो दलको रूपमा उपस्थित छ। एमालेले पपुलर मत पाएको छ। हाम्रा कमजोरीको बारेमा समीक्षा गर्छौँ। हामी अहिले यो गठबन्धन टुटाउने वा सरकार फेर्नेजस्तो फोहोरी खेलमा संलग्न हुन चाहँदैनौँ’, उनले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ असार २०७९, १४ : १४
लेखकबाट थप