आयल निगमको कार्यालयमा राप्रपाको धर्ना

सफल खबर संवाददाता

सोमबार, ०६ असार २०७९, १७ : ११
आयल निगमको कार्यालयमा राप्रपाको धर्ना

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुको कारण माग गर्दै नेपाल आयल निगमको कार्यालयमा धर्ना दिएको छ।

सोमबार निगमको टेकुस्थित केन्द्रिय कार्यालय पुगेका सो पार्टीका नेता, कार्यकर्ताहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुको कारण माग गर्दै धर्ना दिएका हुन्।‘प्रतिलिटर पेट्रोल, डिजेल र मट्टीतेलको कच्चा पदार्थको मूल्य कति पर्छ? नेपाल आयल निगमका कर्मचारीको बोनस कति छ? नेपालका भीभीआपीलाई वर्षको कति पेट्रोल निःशुल्क उपलब्ध गराइन्छ? प्रतिलिटर पेट्रोल, डिजेल र मट्टीतेलमा कति कर लाग्छ?’ लगायतका ७ वटा प्रश्नको जवाफ माग गर्दै निगम कार्यालयमा धर्ना दिनुपरेको पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए।

उनले अनावश्यक करको दरमात्रै हटाउने हो भने पनि पेट्रोलियम पदार्थको मूल्य आधा घट्न सक्ने बताए।गएरातिबाट लागू हुने गरी मूल्य बढाएर पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ, डिजेल प्रतिलिटर १९२ रुपैयाँ पुर्‍याइएपछि सामाजिक सञ्जालमा पनि चर्को विरोध भइरहेको छ।

प्रतिक्रिया दिनुहोस