महराकाे चेतावनी : साम्राज्यवादको नियन्त्रणमा देश जानसक्छ

सफल खबर संवाददाता

सोमबार, ०६ असार २०७९, १६ : ४८
महराकाे चेतावनी : साम्राज्यवादको नियन्त्रणमा देश जानसक्छ

नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले नेपाली शासकहरुले झुकेर स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) सम्झौता गर्नसक्ने आशंका व्यक्त गरेका छन्। सोमवार काठमाडौंमा भएको ३१ औँ किसान संघर्ष दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सरकार, प्रतिपक्ष र विभिन्न राजनीतिक दलहरुले एसपिपी राष्ट्रहित विपरीत भनेपछि तत्कालका लागि सम्झौता रोकिए पनि शासक वर्ग झुकेर सम्झौतामा हस्ताक्षर हुनसक्ने आशंका व्यक्त गरेको हुन्।

उनले भित्रभित्रै सम्झौता गर्ने र ४/५ महिनाको अन्तरालपछि कुरा सेलाउँदै जाँदा बाहिरीन सक्ने आँकलन गरे। यो सम्झौताका लागि एमसिसीले ढोका खोलेको र एमपिपीसीसँग जोडिएको आईपीएसको अर्को रुपमा एसपिपीले नेपालमा स्थान पाएको उल्लेख गरे।

साम्राज्यवादको नियन्त्रणमा देश जान सक्नेतर्फ पनि आशंका उब्जिएको उनले बताए। 

‘एसपिपीको सन्दर्भमा केही समय त टरिसक्यो। सरकारले बोल्यो हामी गर्दैनौँ। प्रतिपक्षले बोल्यो यो राष्ट्रहितकाे विरुद्ध छ। सबै पार्टीहरुले बोले केही संसदमा भएका र संसद बाहिर रहेका पार्टीहरुले पनि भने। एसपिपी नेपालको राष्ट्रिय स्वाधीनताको विपरीत छ भन्ने कुरा भएपछि यो तत्काल सम्झौता रोकियो’ उनले भने, ‘तर मलाई शंका छ। कतै नेपाली शासकहरु झुक्ने त होइनन्। फेरि झुकेर भित्रभित्र सम्झौता गर्ने त होइनन्? यही कुरा ४/५ महिनापछि अब सेलाएपछि सिद्धियो सिद्धियो भन्ने बेलामा गर्ने त होइनन् भन्ने शंका छ।’

पूर्व सभामुखसमेत रहेका महराले देशको राज्यसत्ता साम्राज्यवादको नियन्त्रणमा जानसक्ने आशंका व्यक्त गर्दै सबै नागरिकहरू तत्काल राष्ट्रिय स्वाधीनताको आन्दोलनमा होमिनुपर्ने बताए। 

प्रतिक्रिया दिनुहोस