इन्धनको मूल्यवृद्धि तल्काल फिर्ता लिन अनेरास्ववियुको माग

सफल खबर संवाददाता

सोमबार, ०६ असार २०७९, १५ : ३६
इन्धनको मूल्यवृद्धि तल्काल फिर्ता लिन अनेरास्ववियुको माग

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ।नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले मंगलबार एक विज्ञप्ती निकालेर आयल निगमले आफ्नो कमजोरी लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखेर मूल्यवृद्धि गरेको आरोप लगाएकी छन्।

उनले जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष जोडिएको इन्धनमा मूल्यवृद्धि गरेको भन्दै देशमा राज्य छ कि छैन ? भन्ने अवस्था आएको उल्लेख गरेकी छन्। 

मूल्य समायोजनको बाहनामा अन्तर्राष्ट्रिय बजारमा मुल्य बढ्दा बढाउने तर घट्दा नघटाइ, सरकार विभिन्न कर थुपारेर राजस्व उठाउन व्यस्त रहेको र निगम चुहावट नियन्त्रण गर्न होइन कर्मचारीलाई बोनस र भत्ता बाँड्न मस्त रहेको अनेरास्ववियुको आरोप छ।

सरकारले गरेको मूल्यवृद्धिले जनताको ढाड सेक्ने काम गरेको भन्दै मूल्यवृद्धिको विरुद्धमा निर्णायक आन्दोलनमा सशक्त ढंगले उत्रन अध्यक्ष बरालले आग्रह गरेकी छन्। 

नेपाल आयल निगमले गए रातिदेखि लागू हुने गरी पुनः इन्धनमा मूल्यवृद्धि गरेको छ । पेट्रोलमा २१ रुपैयाँ बढाएर प्रतिलिटर रु. १९९, डिजेल र मट्टितेलमा  २७ रुपैयाँ बढाएर प्रतिलिटर रु. १९२ कायम गरेको छ । 

प्रतिक्रिया दिनुहोस