करको दायरा घटाउन एमालेका कार्यपालिका सदस्य असहमत

सफल खबर संवाददाता

सोमबार, ०६ असार २०७९, १४ : २५
करको दायरा घटाउन एमालेका कार्यपालिका सदस्य असहमत

बुटवल । रुपन्देहीको तिलोत्तमामा करको दायरा घटाउन नगर प्रमुख रामकृष्ण खाँणको प्रस्तावलाई कार्यपालिका बैठकमा असहयोग भएको छ । नेपाली कांग्रेसबाट कार्यपालिका सदस्यमा निर्वाचित सदस्यले कार्यपालिकामा नगर प्रमुखले पेस गरेको करको दायरा घटाउने प्रस्ताव अस्वीकार गरिएको जानकारी दिए ।

उनले भने, “मेयरले तिलोत्तमा बासीलाई केही भए पनि छुट दिन सकियोस् भन्ने उद्देश्यले करको दायरा घटाउने प्रस्ताव ल्याउँदा नेकपा एमालेका कार्यपालिका सदस्यहरूले यसमा विरोध गर्नुभयो ।” 

नगरको विकास र नागरिकलाई राहत हुने भएकाले फोहोर व्यवस्थापन र घर जग्गाबाट लिइने करमा केही छुट गर्ने नगर प्रमुखले प्रस्ताव राख्दा एमालेबाट निर्वाचित तथा कार्यपालिका सदस्यहरूले कर छुट गर्न नहुने भन्दै अडान लिएको उनले बताए ।

जनताले जिताएर पठाएका जनप्रतिनिधिले नै जनताको क्षेत्रमा काम गर्न नसक्नु दुःखद भएको उनको भनाइ छ। कार्यपालिका बैठकबाट निर्णय नभएकाले तिलोत्तमामा करको दर घटाउन नसकिने भएको छ । तिलोत्तमा क्षेत्रका बासिन्दाले पाउने केही करको सुविधाबाट पनि वञ्चित हुने भएको बताइएको छ ।  दुईवटा निर्णयमा नगर प्रमुखले प्रस्ताव राख्दा नमानेर तीनदिनदेखी कार्यपालिकाको बैठक पूर्ण हुन सकेको छैन ।

यस विषयमा भने नगरप्रमुख खाँणले कुनै प्रतिक्रिया जनाएका छैनन् । उनले एमालेका कार्यपालिका सदस्यहरूले सहयोग गर्ने विश्वासमा रहेको प्रतिक्रिया दिए । 

तिलोत्तमा नगरपालिका पटकपटक उत्कृष्ट नगरपालिकाको रूपमा पुरस्कृत भइसकेको नगरपालिका हो । अघिल्लो पटक नेकपा एमालेले सबैजसो स्थानमा जित निकालेको तिलोत्तमामा यो पटक मेयरसहित धेरै वडाध्यक्ष कांग्रेसले जित्यो । 

सदस्यहरू गुमाउँदा कार्यपालिकामा भने नेकपा एमालेको बहुमत छ । ८६ सदस्यीय कार्यपालिकामा ४४ जना नेकपा एमालेबाट विजयी छन् भने ४२ जना नेपाली कांग्रेसका छन् ।

प्रतिक्रिया दिनुहोस