काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद लालबाबु पण्डितले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव अगाडि नबढ्नुको कारण माग गरेका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले महाअभियोग प्रस्ताव अगाडि नबढ्नुको कारण सभामुख अग्निप्रसाद सापकोटाले दिनुपर्ने बताएका हुन् ।
‘यस (महाअभियोग प्रस्ताव) मा सभामुखज्यूको जिम्मेवारी र दायित्व हुन्छ कि हुँदैन ? हुन्छ भने कहिलेबाट महाअभियोग समितिले विषयवस्तु पाउने ? काम गर्न पाउने ? देश र जनताले उठाएका प्रश्नहरुको जवाफ पाउने ?’ सांसद पण्डितले सोधे ।
आफू ११ सदस्यीय महाअभियोग सिफारिस समितिको सदस्य समेत भएको उल्लेख गर्दै सांसद पण्डितले उक्त समितिलाई कहिलेसम्म जिम्मेवारीविहीन अवस्थामा राख्ने भनेर पनि प्रश्न गरेका छन् ।महाअभियोग प्रस्ताव ल्याउनेहरु कहाँ हराए ? भन्दै सांसद पण्डितले सोधे, ‘त्यो महाअभियोग प्रमुख प्रतिपक्षीसँग छलफल नगरी ल्याइएको र पास हुन सक्दैन भनेर प्रस्तावकहरु नै हराइसक्नुभएको हो कि ? उहाँहरु प्रस्तावमाथि छानविन गर्नका लागि तयार हुनुहुन्न कि के भएको हो ?’
महाअभियोग ल्याएर अगाडि नबढाउनु संविधानिक व्यवस्थाको दुरुपयोग भएको पण्डितको भनाइ छ । ‘संविधानमा महाअभियोगको प्रस्तावको जुन व्यवस्था छ । यदि यसको दुरुपयोग भयो भने संविधानको यो व्यवस्थालाई जनताले कसरी बुझ्छन् ? भविष्यमा यस्ता संस्थाहरुको जिम्मेवारी र दायित्व कसरी अगाडि बढ्छ ?’
१ फागुन २०७८ देखि प्रतिनिधिसभामा प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव विचाराधीन छ । जबराविरुद्ध पाँच दलीय सत्ता गठबन्धनमा आवद्ध ९८ सांसदले संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।
प्रतिनिधिसभाले २२ फागुन २०७८ मा ११ सदस्यीय महाअभियोग सिफारिस समिति पनि गठन गरेको थियो । तर, हालसम्म प्रतिनिधिसभाले जबराविरुद्धको महाअभियोग प्रस्तावलाई सिफारिस समितिमा पठाएको छैन। यहीँनेर सांसद पण्डितले प्रश्न गरेका छन्, ‘यही सदनबाट महाअभियोग प्रस्तावमाथि छलफल गर्न समिति बनेको छ । उक्त महाअभियोग समितिले कहिले काम पाउने हो ?’
महाअभियोग सिफारिस समितिमा एमालेका चार, कांग्रेस र माओवादी केन्द्रका दुई–दुई, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एक–एक जना सांसद छन्।
समिति सभापतिमा एमालेका विष्णु पौडेल छन् । सदस्यहरुमा एमालेबाट शिवमाया ताम्बाहाङ्फे, कृष्णभक्त पोखरेल र लालबाबु पण्डित छन् । कांग्रेसबाट मीनबहादुर विश्वकर्मा र रामबहादुर विष्ट, माओवादी केन्द्रकी यशोदा सुवेदी गुरुङ र रेखा शर्मा, एकीकृत समाजवादीकी कल्याणी खड्का, जसपाका प्रमोद साह र लोसपाका एकवाल मिया सदस्य छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ असार २०७९, १४ : ०९
लेखकबाट थप