एमालेका सदस्यले कार्यपालिका बैठकको निर्णय नै खोसेर भागे

सफल खबर संवाददाता

सोमबार, ०६ असार २०७९, १२ : ०७
एमालेका सदस्यले कार्यपालिका बैठकको निर्णय नै खोसेर भागे

पोखरा । एमालेबाट निर्वाचित सदस्यले पर्वतको जलजला गाउँ कार्यपालिकाको बैठकको निर्णय खोसेर भागेकी छन् ।

आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट, नीति तथा कार्यक्रमका विषयमा छलफल गर्न राखिएको बैठकको निर्णयमा असहमति जनाउँदै एमालेबाट निर्वाचित सदस्य बिमला बरुवालले निर्णयपुस्तिका लिएर हिँडेकी हुन् । 

निर्णयपुस्तिका लिएर भागेपछि राति १० बजे बैठक स्थगित गरिएको गरिएको थियो ।जलजला गाउँपालिका प्रवक्ता हरिविकास जिसीले विज्ञप्ति जारी गर्दै बरुवालले निर्णय पुस्तिका खोसेर म्याग्दीको बेनीतर्फ लागेको बताएका छन् ।

दुईवटा औपचारिक बैठक र विभिन्न चरणमा बसेको अनौपचारिक बैठकमा सहमति नभएपछि पालिकाको कानूनअनुसार अध्यक्ष राजुप्रसाद आचार्यले चारवटा विषयगत समिति गठन गरेको निर्णय सुनाएका थिए । उक्त निर्णयमा असहमति जनाउँदै नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यले ‘नोट अफ डिसेन्ट’ लेख्ने भन्दै निर्णयपुस्तिका लिएर गएकी थिइन् ।गाउँपालिका कार्यसम्पादन नियमावली २०७४ को नियम १५ र स्थानीय शासन ऐन २०७४ को दफा १६ को उपदफा ४ को घ (२) मा गाउँपालिका अध्यक्ष वा प्रमुखले विषयगत समिति तोक्नसक्ने उल्लेख छ । 

सोही कानूनको आधारमा गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले आर्थिक, सामाजिक विकास, वातावरण तथा विपत् र पूर्वाधार गरी चारवटा विषयगत समितिको घोषणा गरेका थिए ।आचार्यको निर्णयअनुसार आर्थिकमा हरिविकास जिसी, सामाजिक विकासमा गौबहादुर पुन, वातावरण तथा विपतमा बलबहादुर पुन र पूर्वाधार विकास समितिमा टुंगनाथ आचार्यलाई संयोजक तोकेका थिए । 

अध्यक्षले विषयगत समितिको संयोजक तोकेको निर्णयमा हस्ताक्षर गर्नेक्रममा नेकपा एमालेबाट कार्यपालिका सदस्यमा निर्वाचित बरुवालले निर्णयपुस्तिका लिएर भागेकी हुन् । गाउँपालिकाका अध्यक्ष आचार्यले सहमतिका लागि अधिकतम् प्रयास गर्दा पनि एमालेबाट निर्वाचित सदस्यले अडान नछाडेपछि अध्यक्षलाई तोकेको कानूनको अधिनमा रहेर संयोजक तोकेको जानकारी दिए ।

जलजला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित सत्ता गठबन्धनको छ जना र एमालेको ११ जना कार्यपालिका सदस्य रहेका छन् । गाउँपालिकाका प्रवक्ता हरिविकाश जिसीले एक विज्ञप्ति जारी गर्दै बैठकबाट निर्णय पुस्तिका लिएर भाग्नु कायरताको पराकाष्ठा भएको भन्दै खेद प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस