सहरी विकास मन्त्रालयका सचिव सिंहको असुली धन्दा !

पत्रपत्रिकाबाट

सोमबार, ०६ असार २०७९, ०८ : ०१
सहरी विकास मन्त्रालयका सचिव सिंहको असुली धन्दा !

काठमाडौं । सहरी विकास मन्त्रालयका सचिव डा. रमेश सिंहले मातहतका निकायका प्रमुख तथा वरिष्ठ इन्जिनियरलाई धम्काउदै रकम असुली गर्न थालेका छन् । यसरी सचिव सिंहले धम्क्याउँदै रकम असुली गर्न थालेपछि मातहतका इन्जिनियरलगायतका कर्मचारीले त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रकम असुली सम्बन्धमा गुनासो आएको भन्दै सिंहसँग स्पष्टीकरण सोधेको छ । आर्थिक वर्षको समापन हुनै लाग्दा विभिन्न विकासे मन्त्रालयमा रकमको लेनदेन हुने गरेको छ । विभिन्न मन्त्रालय र मातहतका निकायमा कर्मचारी सरुवामा आर्थिक चलखेल हुने गरेको र अहिले त्यो क्रम अत्याधिक रहेको स्रोतको दाबी छ ।

सहरी विकास सचिव सिंहले सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँगको मिलिमतोमा मातहतका कर्मचारीसँग रकम असुली गर्न थालेको कर्मचारीको आरोप छ । सचिव सिंहले पनि मन्त्री र मन्त्रीको पार्टीलाई रकम आवश्यक पर्ने भन्दै मन्त्रीको नाम लिँदै वरिष्ट इन्जिनियर तथा मातहका कर्मचारीसँग रकम बार्गेनिङ गर्दै आइरहेको बताइएको छ ।

सचिव सिंहले भने जति रकम नदिए अपायक ठाउँमा सरुवा गरिदिने भन्दै इन्जिनियरलाई दुःख दिने काम गरिरहेका छन् । ‘सचिव सिंहले हाकाहाकी रकम माग्न थालेपछि हामी बाध्य भएर अख्तियार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी हाल्न बाध्य भएका हौं ।’ एक वरिष्ठ इन्जिनियरले भने ।

पीडित कर्मचारीले अख्तियार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सिंहविरुद्ध छानबिनको माग गर्दै उजुरी हाले पनि सुरुमा प्रधानमन्त्री कार्यालयले खासै चासो दिएको थिएन तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहरी विकास सचिव सिंहले सहरी विकासमन्त्रीको नाम लिँदै मातहतका कर्मचारी सँग रकम असुली गर्न थालेको उजुरी आएकाले त्यस विषयमा आवश्यक छानबिन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्राचार गरेको थियो । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस