संघ र प्रदेशको सीट बाँडफाँटका लागि गठबन्धनभित्र छिटै छलफल थाल्नु पर्छः माधव नेपाल

सफल खबर संवाददाता

आइतबार, ०५ असार २०७९, १५ : ५६
संघ र प्रदेशको सीट बाँडफाँटका लागि गठबन्धनभित्र छिटै छलफल थाल्नु पर्छः माधव नेपाल

काठमाडौँ  । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संघ र प्रदेशको निर्वाचनका लागि सीट बाँडफाँट गर्न गठबन्धनभित्र छलफल थालिनु पर्ने बताएका छन्।

आइतबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको छलफलमा अध्यक्ष नेपालले यस्तो बताएका हुन्। गठबन्धनका दलहरुबीच मापदण्ड बनाएर संघ र प्रदेशको सीट बाँडफाँट थाल्नु पर्ने उनको भनाइ छ।

उनले भने, ‘संघ र प्रदेशको सीट बाँडफाँटका लागि मापदण्ड बनाएर छिटो छलफल थालिनु पर्छ। हाम्रो जोड पनि त्यसैमा छ।’स्थानीय तहको निर्वाचनमा भन्दा संघ र प्रदेशको निर्वाचनमा सीटको भागबण्डा गर्न सजिलो रहेको उनी बताउँछन्।स्थानीय तहको निर्वाचनमा तालमेलको जिम्मा सम्बन्धित स्थानीय तहलाई नै दिइएको तर प्रदेश र संघको निर्वाचनमा केन्द्रबाटै भागबण्डा गरिने हुँदा सजिलो रहेको उनको भनाइ छ। अध्यक्ष नेपालले भने, ‘स्थानीय तहमा भन्दा माथि सीट बाँडफाँट सजिलो छ।’

सहमति हुन नसकेको ठाउँमा कसरी भागबण्डा मिलाउने भन्नेबारे आफूहरुले टुंगो लगाउने उनले बताए। ‘सहमति भएको ठाउँमा सहमति र सहमति नभए कसरी जाने भन्ने टुंगो लगाउँछौँ,’अध्यक्ष नेपालले भने।

प्रतिक्रिया दिनुहोस