संघीय चुनावको तयारीमा जुट्न युवाहरूलाई माधव नेपालको निर्देशन

सफल खबर संवाददाता

शनिबार, ०४ असार २०७९, १६ : ५६
संघीय चुनावको तयारीमा जुट्न युवाहरूलाई माधव नेपालको निर्देशन

काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा सम्बद्ध युवाहरूलाई संघीय चुनावको तयारीमा लाग्न निर्देशन दिएका छन् ।

एकीकृत समाजवादीको युवा विशेष जिल्ला कमिटीको कार्यक्रमलाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै नेपालले टोलटोल पुगेर पार्टीको चुनाव चिह्न प्रचार गर्न र निर्वाचन बुथ केन्द्रित संगठन विस्तार गर्न निर्देशन दिएका हुन् ।

‘६ महिनाभित्र चुनाव आउँछ । जनताको विश्वास जितेर, जनताको शक्तिमाथि भरोसा गरेर अघि बढ्न चाहन्छौं । अब प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको तयारीमा जुट्न ढिलो गर्नुहुँदैन । टोलटोलमा पुग्ने गरी तयारीमा जुट्नुहोला,’ नेपालले भने ।

स्थानीय तहको चुनावको बेला ७५३ मध्ये ७० प्रतिशत पालिकामा मात्रै पुग्न सकिएको पनि उनले बताए । ‘३० प्रतिशत वडामा पुग्न सकेका रहेनछौं । जनताको माझमा जाने गति सुस्त हुनुपुग्यो । अब त्यस्तो हुनुहुँदैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस