एसपीपी ओली सरकारकै पालामा अघि बढेको पुष्टि भयोः कांग्रेस प्रवक्ता शर्मा

सफल खबर संवाददाता

शनिबार, ०४ असार २०७९, १५ : ५३
एसपीपी ओली सरकारकै पालामा अघि बढेको पुष्टि भयोः कांग्रेस प्रवक्ता शर्मा

काठमाडाैँ । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) केपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि भएको बताएका छन्।

महामन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल एमालेले कांग्रेसलाई आक्षेप लगाउने ढंगले संसदमा बोले पनि त्यसको २४ घण्टा नबित्दै सो प्रोग्राम ओली नेतृत्वकै सरकारले अघि बढाएको खुल्न आएको बताएका हुन्।उनले भने, ‘संसदमा उभिएर कसैले आक्षेप लगाउने ढंगले भनि दिनुहुन्छ–हामीले त रोक्ने प्रयत्न गरेका थियौँ, कांग्रेस गम्भीर भएन भनेर भनिदिनुहुन्छ। २४ घण्टा पुग्दै गर्दा थाहा हुन्छ, जसले त्यसरी खरो स्वरमा बोल्नुभयो, उहाँहरुकै पालामा त्यसरी लेखिएको रहेछ। त्यसैले अहिले प्रश्न एसपीपी आयो र गयो भन्ने होइन। यो खालको प्रवृत्ति एउटा समुन्नत राष्ट्र बन्नका लागि, सफल बन्ने राष्ट्रका लागि सुन्दर संकेत होइन।’

उनले कूटनीतिक मर्यादा विपरीत सो प्रोग्राममा सामेल भएर नेपाली सेना पनि विवादमा पहिलो पटकसामेल भएको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे। एसपीपीमा आवद्ध हुनका लागि लेखिएको पत्रले हामी कूटनीतिक अभ्यासबारे गम्भीर छैनौँ भन्ने देखाएको शर्माको टिप्पणी छ।

उनले भने, ‘अहिले एसपीपी जो आएको छ, यसले २/३ वटा कुरालाई सार्वजनिक रुपमा क्लिएर गरेको छ। एउटा, हामी कूटनीतिक अभ्यासको बारेमा गम्भीर रहेनछौँ। कुनै पत्र लेखिन्छ, पत्र लेखिँदै गर्दा पत्र पुगिसक्छ, पत्र पाउनेले पाइसक्छ। लेख्नेले लेखिसक्छ। न तपाईं थाहा पाउनु हुन्छ, न म थाहा पाउँछु। न सरकारले थाहा पाउँछ।’

नेपाल शिक्षक संघ, ललितपुरले शनिबार पाटनढोकामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो प्रोग्राम राष्ट्रको हितमा नभएकाले अघि नबढाउने कुरा प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्ट पारिसकेको उल्लेख गर्दै नेपालले मुलकको हित विपरीतका कुनै पनि सन्धि, सम्झौता नगर्ने दोहोर्‍याए।

नेपालले अमेरिका, भारत, चीन कुनै पनि मुलुकबाट देश र जनताको हितका लागि सहयोग लिन सक्ने तर सैन्य गतिविधिमा भने कहिल्यै पनि सहभागी नहुने महामन्त्री शर्माको भनाइ थियो।

उनले भने, ‘देशको समुन्नतिका लागि चीनले सहयोग गरोस्, हामी लिन तयार। भारतले सहयोग गरोस् हामी लिन तयार। अमेरिकाले सहयोग गरोस् हामी लिन तयार। तर, नेपालको राष्ट्रिय स्वार्थलाई राष्ट्रिय सार्वभौमिकतालाई केन्द्रमा राखेर मात्रै हामी त्यो लिन तयार।’

महामन्त्री शर्माले एसपीपीबारे राष्ट्रिय एकतालाई कमजोर बनाउने गरी अभिव्यक्ति नदिन पनि राजनीतिक दलका नेताहरुको ध्यानाकर्षण गराए।

प्रतिक्रिया दिनुहोस