प्रधानमन्त्रीको अमेरिका भ्रमण नेपालका लागि सकारात्मक हुनेछः पुष्पा भुसाल

सफल खबर संवाददाता

शुक्रबार, ०३ असार २०७९, १७ : ४०
प्रधानमन्त्रीको अमेरिका भ्रमण नेपालका लागि सकारात्मक हुनेछः पुष्पा भुसाल

काठमाडौं । कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले अन्तर्राष्ट्रिय विदेश नीतिलाई बलियो बनाउन साझा विदेश नीति निर्माण गर्न आवश्यक रहेको बताएकी छन्।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा शुक्रबार सचेतक भुसालले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका ‘हाई लेभल भिजिट’ भन्ने कुरा नेपालका लागि अत्यन्त सकारात्मक रहेको पनि बताइन्।उनले प्रधानमन्त्रीको अमेरिका भ्रमण नेपालको विदेश नीतिलाई बलियो बनाउन सकारात्मक भ्रमण हुने बताइन्। उनले भ्रमणमा जानुअघि नेपालको विदेश नीतिमाथि टेकेर, संविधानमाथि टेकेर सकारात्मक ढंगबाट अघि बढ्नुपर्ने बताइन्।

उनले प्रधानमन्त्रीको अमेरिका भ्रमण कुनै सम्झौतासँग सम्बन्धित नरहेको कुरा सदनमा स्पष्ट भइसकेको भन्दै प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे भ्रम फैलाउनु नेपालको विदेश नीतिलाई कमजोर गराउनु भएको बताइन्।उनले भनिन्, ‘प्रधानमन्त्रीको अमेरिका हाई लेभल भिजिट भन्ने कुरा हाम्रा लागि अत्यन्त सकारात्मक कुरा हो। यदि भिजिट तयार हुन्छ, तय हुन्छ भने पनि नेपाल र नेपालको विदेश नीतिलाई बलियो बनाउनका निम्ति सकारात्मक भ्रमण मान्नुपर्छ। भ्रमणमा जानुअघि नेपालको विदेश नीतिमाथि टेकेर, संविधानमाथि टेकेर सकारात्मक ढंगबाट भिजिट अघि बढ्नुपर्छ। यसलाई समिति, विभिन्न पार्टीको नेतृत्व गरेको सदनले जवाफ दिनुपर्छ। यो भिजिट भएको सन्दर्भमा प्रधानमन्त्रीले सदनमा आएर जानकारी गराउनुहुनेछ भन्ने विश्वास छ। हामीले भएको सफ्ट पावरलाई प्रयोग गरेर हाम्रो विदेश नीतिलाई बलियो र नेपालको राष्ट्रिय हितमा प्रयोग गर्नुपर्छ।’

एसपीपीबारे सरकारले कुनै पनि सम्झौता नगर्ने उनले बताइन्। प्रधानमन्त्रीको अमेरिका भ्रमण कुनै सम्झौतासँग सम्बन्धित नभएको उनको भनाइ छ।

उनले भनिन्, ‘बाहिर यसलाई भ्रम फैलाउनु भनेको नेपालको विदेश नीतिलाई कमजोर गराउनु हो। त्यसैले हामीले अन्तर्राष्ट्रिय विदेश नीतिलाई बलियो बनाउन एउटा साझा विदेश नीति बनाउन आवश्यक छ। भिजिट गर्नुहुँदैन भनेर दुई देशबीचको परराष्ट्रनीतिलाई बिगार्ने किसिमबाट संवाद गर्नु हुँदैन।’

सचेतक भुसालले प्रधानमन्त्री र प्रधान सेनापतिलगायतले भ्रमण नै गर्नु हुँदैन भनेर दुई देशबीचको परराष्ट्रनीतिलाई बिगार्ने काम गर्नु नहुने बताइन्।

प्रतिक्रिया दिनुहोस