निजगढ विमानस्थल कुनै बहानामा सार्न मिल्दैन : मुख्यमन्त्री राउत

सफल खबर संवाददाता

विहीबार, ०२ असार २०७९, १७ : २४
निजगढ विमानस्थल कुनै बहानामा सार्न मिल्दैन : मुख्यमन्त्री राउत

 काठमाडाैँ। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निजगढबाट  कुनै पनि बहानामा सार्न नमिल्ने बताएका छन्।निजगढमा विमानस्थल बन्नुपर्ने माग गर्दै आन्दोलनरत निजगढ सार्वजनिक सरोकार समितिसँगको साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री राउतले मधेश प्रदेशको विकासका लागि अति महत्त्वपूर्ण निजगढ विमान स्थान सार्ने खेल आफूहरूलाई स्वीकार्य नहुने जानकारी गराए।

सर्वोच्च अदालत फैसलाको पूर्णपाठ अझै आइनसकेकाले नआत्तिन निजगढवासीलाई आग्रह गर्दै मुख्यमन्त्री राउतले पूर्ण पाठमा निजगढ विमानस्थलका लागि सकारात्मक सन्देश आउने विश्वास व्यक्त गरे।

मुख्यमन्त्री राउतले भने‚ ‘निजगढ विमानस्थल बन्नुपर्नेमा हामी दृढ छौँ तर विमानस्थलको नाउँमा अनावश्यक रूख कटानी गर्न दिँदैनौ।’ विश्वको सबैभन्दो ठूलो विमानस्थल होइन, नेपालका लागि सुहाउँदो विमानस्थल बनाउनका लागि प्रदेश सरकारका तर्फबाट हरसम्भव प्रतिबद्धता व्यक्त गरे।

विमानस्थलको नाउँमा जंगल सिध्याउने चलखेल हुँदै आएकोप्रति निजगढवासीलाई सचेत गराउँदै मुख्यमन्त्री राउतले निजगढ विमानस्थलको निर्माण प्रक्रिया कागजमा मात्र नभई सतहमा शुरु गर्न गराउनका लागी दबाव दिन आग्रह समेत  गरे।

निजगढवासीले केही दिनयता जारी राखेको चक्काजाम सहितको आन्दोलन तत्कालका लागि स्थगन गर्न आग्रह गर्दै मुख्यमन्त्री राउतले भने, ‘सर्वोच्चको पूर्ण पाठ नआउञ्जेलसम्मका लागि आन्दोलन स्थगित गर्नुस्। पूर्ण पाठ हाम्रै पक्षमा आउँछ भन्नेमा विश्वस्त छु। विपक्षमा आए फेरि आन्दोलन गरौला।’ 

मुख्यमन्त्री राउतले रिले अनशनमा बसेका आन्दोलनकारीहरू समेतलाई भेटे पछि सरोकार समितिले चक्का जाम कार्यक्रम आजैबाट स्थगित गरेका छन् भने रिले अनशनलाई निरन्तरता दिने जनाएका छन्।

प्रतिक्रिया दिनुहोस