सांसदहरूले ‘मलाई त्यही केटी चाहिन्छ...’ भनेजस्तै गर्नुभयो- स्वास्थ्यमन्त्री खतिवडा

सफल खबर संवाददाता

बुधबार, ०१ असार २०७९, १७ : ०८
सांसदहरूले ‘मलाई त्यही केटी चाहिन्छ...’ भनेजस्तै गर्नुभयो- स्वास्थ्यमन्त्री खतिवडा

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बजेटमा आएको स्वास्थ्य बीमा कार्यक्रमलाई लिएर सांसदहरूले ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ भन्ने गीतजस्तो जिद्दी गरेको बताएका छन् । अर्थमन्त्रीले स्वास्थ्य बीमालाई नाफाको विषय नबनाउने भनेर स्पष्टीकरण दिए पनि एउटै सांसदहरूले उही कुरा दोहोर्याएको टिप्पणी गरेका हुन् ।

‘स्वास्थ्य बीमाको बारेमा संसदमा जायज नाजायक कुरा उठे, बजेटमा कम्पनी भन्ने शब्द पर्नाले । अर्थमन्त्रीले रोष्टममा उभिएर यो विषयमा त्यो कुरा होइन, त्यो नियत होइन भन्नुभयो,’ विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले भने, ‘बजेट आएलगत्तै पत्रकारहरूसँग मैले भनेको थिएँ । स्वास्थ्य बीमा ऐनको विपरीत जाने गरी गर्दिनँ, स्वास्थ्य बीमा नितान्त व्यापारिक नाफा प्रयोजनका लागि नभएकोले जाँदैन भनेको थिएँ । अर्थमन्त्रीले यही रोष्टमबाट जवाफ दिएपछि पनि स्वास्थ्य बीमाको विषयलाई लिएर मलाई त्यही केटी चाहिन्छ भनेजस्तो, एउटै कुरा दोहोर्‍याएको जस्तो, जिद्दी बालकको जस्तो गर्नुभयो ।’ 

स्वास्थ्यमन्त्री खतिवडाले सांसदहरूको जिद्दीबारे आफ्नो साथीको किस्सा सुनाए । ‘मेरो हेटौंडामा साथी छ, मेरो जीउ क्विन्टल माथि गएको छ, ऊ क्विन्टलमा पु्गेको छैन, किलोमा छ । उसले मलाई तेरो फोक्से मासु हो, तँ किलो नै होस्, म क्विन्टल हो भन्थ्यो । जति सम्झाए पनि नमान्ने । वैशाख ३० गते भेट भयो, उसले फेरि त्यही कुरा ल्यायो । दोकान अगाडि डिस्कस हुँदा दोकानका तौल जोख्ने मेसिन रहेछ अनि मैले पनि जोखेँ । ऊ किलो भयो क्विन्टल मै सावित भएँ,’ सांसदले जिद्दी गरेको भन्ने दाबी पुष्टि गर्न मन्त्री खतिवडाले यो किस्सा सुनाए ।  

मृत्यु बीमाको विषयमा पनि बहसमा लैजानुपर्ने मन्त्री खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस