चितवनमा घरेलु मदिरा नष्ट

बुधबार, ०९ जेठ २०७५, १५ : ५१
चितवनमा  घरेलु मदिरा नष्ट

चितवन । प्रहरीले जिल्लामा अवैध घरेलु मदिरा उत्पादन र बिक्री वितरण नियन्त्रण अभियान सञ्चालन गरेको छ । घर/घरमा पुगेर अवैध रुपमा सञ्चालन गरेका भट्टीका सामग्री र उत्पादनसहित सञ्चालकलाई नियन्त्रणमा लिई कारबाही गर्ने प्रक्रिया शुरु गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरकाअनुसार वडा प्रहरी कार्यालय नारायणगढ र नारायणगढ बसपार्कस्थित प्रहरी विटले तीन दिनमा ३१ घरबाट ९५० लिटर अवैध तयारी मदिरा नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएको मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उक्त परिमाणको मदिरा भरतपुर महानगरपालिका–३, ४, १० र ११ बाट नियन्त्रणमा लिइएको हो । सो क्रममा १८ हजार लिटर मदिरा बनाउने कच्चा पदार्थ, १२ सेट मदिरा बनाउन प्रयोग गरिएका भाँडा, २२० थान खाली भाँडा र ४६ जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका सबै जनालाई पहिलो चरणमा सम्झाइबुझाइ छाडिएको प्रहरी उपरीक्षक राठौरले बताउनुभयो ।

अभियानका क्रममा नियन्त्रणमा लिइएका ‘ड्रम सुईरो’ स्थानीय टोलमा फोहोर संकलनका लागि वितरण गरिने छ । शहरी क्षेत्रमै मदिरा भट्टी व्यापक भएको भन्दै उहाँले जिल्लाका अन्यत्र ठाउँमा पनि स्थानीयवासी र प्रहरीले यो अभियान जारी राखेको बताउनुभयो । ‘सर्च स्वीप एण्ड स्क्रिनिङ’ अप्रेशन (थ्री एस अप्रेशन) नाम दिएर जिल्लाभर अवैध मदिरा नियन्त्रण गरिने राठौरले बताउनुभयो ।

जिल्लामा के कहाँ यस्ता भट्टी छन्, भन्ने बारेमा व्यापक खोजी भइरहेको बताउँदै यसको तथ्यांक समेत संकलन गर्ने काम भइरहेको जानकारी दिनुभयो । यसअघि अवैध मदिरा ढुवानीका क्रममा नियन्त्रणमा लिने गरिएको भए पनि अहिले घर÷घरमा पुगेर खोजी गरी नियन्त्रण गरिँदै छ । (रासस)

प्रतिक्रिया दिनुहोस