धारापानी २२० केभी सबस्टेसन निर्माणाधीन, खुदी अन्तिम चरणमा

सफल खबर संवाददाता

शुक्रबार, २३ कार्तिक २०८१, १९ : ५७
धारापानी २२० केभी सबस्टेसन निर्माणाधीन, खुदी अन्तिम चरणमा

काठमाडौं । मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मनाङको नासोँ गाउँपालिका–१ धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ । आयोजनाअन्तर्गतकै लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ खुदीमा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ ।

धरापानी सबस्टेसन डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । खुदी सबस्टेसन आगामी तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी अन्तिम चरणका कामहरु जारी छन् । धारापानी सबस्टेसन रहने ठाउँको जमिन सम्याउने तथा पावर ट्रान्सफर्मर राखिने स्थान, नियन्त्रण कक्षलगायतका सिभिल संरचनाहरुको निर्माण धमाधम भइरहेको छ ।

धारापानी र खुदी सबस्टेसनमा क्रमश: २२०-१३२ केभी,१०० एमभिए तथा १३२-३३ केभी, ३० एमभिए र २२०-१३२ केभी, १६० एमभिए तथा १३२-३३ केभी, ५० एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरु रहने छन् । दुवै सबस्टेसनमा स्थानीय रुपमा विद्युत आपूर्तिका आवश्यक व्यवस्था गरिएको छ । निर्माण सम्पन्न भई सबस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्ति सुरु भएपछि लमजुङ र मनाङको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन भ्रमणमार्फत सबस्टेसन तथा प्रसारण लाइन निर्माण प्रगति, बेहोरिएका समस्या, काम सम्पन्न हुने तालिकालगायतका विषयमा आयोजना व्यवस्थापन, निर्माण व्यवसायीसँग विस्तृत छलफल गरी  जनशक्ति थप गरी प्रसारण लाइन तथा सबस्टेसन तोकिएकै समयमा सम्पन्न गर्न निर्माणमा सङ्लग्न सबैलाई आग्रह गर्नुभएको छ । साथै, कार्यकारी निर्देशक घिसिङले धारापानी क्षेत्रका स्थानीयबासिन्दासँग छलफल गरी सबस्टेसन तथा प्रसारण लाइन निर्माणमा आवश्यक सहयोग गर्न आग्रह गरेका छन् ।

‘मस्र्याङ्दी करिडोर प्रसारण लाइनमा जोड्ने गरी सम्झौता गरिएका जलविद्युत् आयोजनाहरुको निर्माण सुरु भइसकेको छ, त्यसैले यो लाइन जतिसक्दो छिट्टो निर्माण सम्पन्न गर्नुपर्ने छ, समयतालिका, कामको गुणस्तरलगायतलाई विशेष ध्यान दिएर निर्माणलाई तीब्रता दिनुपर्ने छ’, घिसिङले भने । ‘भौगोलिक बिकटतालाई चिर्दै मनाङमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् त पुगेको छ तर भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिको समस्या छ, आपूर्तिका सुधारका लागि पनि जतिसक्दो छिटो प्रसारण लाइन तथा सबस्टेसन निर्माण सम्पन्न गर्नु पर्नेछ ।’ सबस्टेसन निर्माणस्थल वरपरका स्थानीय बासिन्दाले राखेका जायज माग पूरा गर्न आयोजना सँधै तयार रहेको बताउँदै उहाँले पर्यटकीयस्थल मनाङको विद्युत् आपूर्ति सुधारका लागि योजनाबद्ध रुपमा काम अगाडि बढाइसकिएको उल्लेख गरे ।

मस्र्याङ्दी र त्यसका सहायक नदीहरुबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत प्रवाह गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस