रुसमा चार क्षेत्रीय गभर्नरद्वारा राजीनामा

सफल खबर संवाददाता

बुधबार, २८ बैशाख २०७९, १४ : ३३
रुसमा चार क्षेत्रीय गभर्नरद्वारा राजीनामा

पश्चिमा मुलुकहरूले आर्थिक प्रतिबन्धहरूको घोषणा गरेसँगै रुसमा चार जना क्षेत्रीय गभर्नरहरूले राजीनामा दिएका छन् ।

रुसको टोम्स्क, सराटोभ, किरोभ र मारिएल क्षेत्रका गभर्नरहरुले राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ यस्तै, रायजान क्षेत्रका गभर्नरले आफूले दोश्रो कार्यकालका लागि उम्मेद्वारी नदिने घोषणा गरेका छन् । त्यहाँ आगामी सेप्टेम्बर महिनामा चुनाव हुँदैछ ।

रुसका क्षेत्रीय गभर्नरहरु चुनावमार्फत निर्वाचित हुने भएपछि उनीहरु रुसी प्रशासन क्रेमलिनको मातहतमा रहने बताइन्छ । कहिलेकहीँ क्रेमलिनले यस्ता गभर्नरहरुलाई राजीनामा दिन बाध्य समेत पार्ने गरेको बताइन्छ ।

पश्चिमा मुलुकहरुले प्रतिबन्ध लगाएका कारण खस्कँदो रुसी अर्थतन्त्रमाझ क्रेमलिनले कमजोर गभर्नरलाई हटाएको मस्कोस्थित सेन्टर फर द डेभलपमेन्ट अफ रेजिनल पोलिटिक्स नामक थिंक ट्यांकका प्रमुख इलिया ग्राश्चेन्कोभले बताए ।

यो वर्ष सन् २०२२ मा रुसको अर्थतन्त्रमा ८ दशमलब ८ प्रतिशतको संकुचन आउने रुसी अर्थ मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस