काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले १६ मंसिरमा हुने स्थानीय तह निर्वाचनमा पुराना दलसँग सहकार्य नगर्ने भएको छ । नयाँ दलसँग भने निर्वाचनमा सहकार्य हुनसक्ने बताएको छ ।
पहिलो पटक स्थानीय तहको निर्वाचनमा भाग लिन लागेको रास्वपाले चुनावी तयारीका लागि सांसद गणेश पराजुलीको संयोजकत्वमा कार्यदल बनाएको छ । सहमहामन्त्री विपिन आचार्यले पारिवारिक कारणले समय दिन नसक्ने भनेपछि पराजुलीले यो जिम्मेवारी पाएका हुन् । कार्यदलमा ७ देखि ९ जनासम्म रहने पराजुलीले बताए ।
३० वैशाख २०७९ मा भएको चुनावबाट निर्वाचित भई हाल रिक्त रहेका मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको छ ।जिल्ला समन्वय समिति प्रमुख २, गाउँपालिका अध्यक्ष २, नगरपालिका प्रमुख १, गाउँपालिका उपाध्यक्ष ४, नगरपालिका उपप्रमुख १, गाउँपालिका वडाध्यक्ष ९ र नगरपालिका वडाध्यक्ष २१ गरी जम्मा कूल ४० पदका लागि उपनिर्वाचन हुँदैछ ।
उपनिर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतका पुराना दलसँग चुनावी तालमेल नगर्ने कार्यदलका संयोजक पराजुलीले बताए ।रास्वपाले उपनिर्वाचनका लागि तीन वटा विकल्प अघि सारेको छ । आफ्नै दलको उम्मेदवार उठाउने, गैर दलीय स्वतन्त्र उम्मेदवारलाई सघाउने र गैर दलीय उम्मेदवारलाई रास्वपाको चुनाव चिह्नमा उठाउने विकल्प अघि सारेको हो। आफ्नो दलको उम्मेदवारले जित्न नसके राम्रो स्वतन्त्र उम्मेदवारले जित्नुपर्ने रास्वपाको भनाइ छ ।
रास्वपाका नेताहरूका अनुसार आसन्न स्थानीय तहको उपनिर्वाचनलाई आन्दोलनकै निरन्तरताको रूपमा पार्टीले लिएको छ ।सभापति लामिछानेलाई २ कात्तिकमा प्रहरीले पक्राउ गरेपछि राजनीतिक प्रतिशोध भन्दै रास्वपाले विरोध प्रदर्शन गर्दै आएको छ ।
पार्टी महाधिवेशनको प्रक्रियामा रहेकाले चुनावलाई संगठन निर्माणको कामसँग जोडिने रास्वपाले जानकारी गराएको छ ।प्रमुखका लागि कीर्तिपुर नगरपालिका, उपप्रमुखका लागि जाजरकोटको नलगाड नगरपालिका, अध्यक्षमा मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिकामा चुनाव हुँदैछ ।
उपाध्यक्ष पदका लागि दोलखाको गौरीशंकर, हुम्लाको सर्केगाड, रुकुम पूर्वको पुथाउत्तरगंगा र बाजुराको स्वामीकार्तिक खापरमा उपनिर्वाचन हुनेछ । प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षका अतिरिक्त खाली भएका वडाध्यक्षको पदका लागि पनि चुनाव गर्न लागिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ कार्तिक २०८१, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई चरणमा अनेरास्ववियु क्रान्तिकारीको निर्वाचन
फ्रान्सको सरकार ३ महिनामै ढल्यो
पत्रकार महासंघको निर्वाचनको सन्दर्भमा ६ संगठन एक ठाउँमा
निर्वाचन आचारसंहिता उल्लङ्घन गरे सोझै कारबाही
आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ : राष्ट्रपति पौडेल
फ्रान्समा भोलि चुनाव, म्याक्रोनको पार्टी सर्वेक्षणमा पछाडी