बुटवलमा साढे चार करोडको सुन चोरीको आरोपमा ३ जना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, २७ बैशाख २०७९, १६ : ५५
बुटवलमा साढे चार करोडको सुन चोरीको आरोपमा ३ जना पक्राउ

काठमाडाैँ । बुटवलमा सुन पसल चोरी गरेको आरोपमा ३ जना पक्राउ परेका छन्। वैशाख १३ गते राति बुटवल उपमहानगरपालिका ६ बि.पी. चोकमा रहेको गुल्मेली मजुवा सुनचाँदी पसलमा गरगहना चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरि सार्वजनिक गरिएको हो।

बुटवल ६ बि.पी. चोकस्थित दिल बहादुर सुनारले सञ्चालन गरेको गुल्मेली मजुवा सुनचाँदी पसलबाट चार करोडभन्दा बढीको सुन र गहना चोरी भएको थियो।चोरी गरेर फरार अभियुक्तहरु भारत जौहरी मोहल्ला चौक लखनऊ चौक उत्तर प्रदेश बस्ने वर्ष ३६ को मोहसिन अब्दुल्ला खान, भारत साई एन्क्लेव गोमती बिहार कोलोनी लखनउ उत्तर प्रदेश बस्ने वर्ष २५ को मोहद जीशान खान र भारत तकिया पेपर मिल कालोनी सी ब्लक–२ निशातगंज महानगर लखनऊ उत्तर प्रदेश बस्ने वर्ष २२ को मोहम्मद सारीक रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई प्रहरीले पक्राउ गरेपछि मंगलबार सार्वजनिक गरेको हो।

इलाका प्रहरी कार्यालय बुटवल र इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले खोजतलासको क्रममा वैशाख २६ गते साँझ लुम्बिनी साँस्कृतिक न.पा. वडा नं. ४ महुवारीस्थित खुनगाइ कालीदह सडक खण्डमा चेकजाँच गर्ने क्रममा भारतीय नम्बर प्लेट युपी ३२ एलडब्लु ३१५१ वागोनर गाडी चेकजाँच गर्दा उक्त गाडीमा सवार उनीहरु पक्राउ परेका हुन्।उनीहरुको साथबाट १०/१० ग्रामको सुनको बिस्कुट थान–२, २० ग्रामको सुनको बिस्कुट थान–१, सुनको गरगहना डल्लो बनाएको सुनको ढिक्का थान–१, सुनको पैसाको सिक्का आकारको गोलो थान–१, मोबाइल थान–३, नगद भा.रु. १०० को नोट ६० वटा, आधार कार्ड, एटीएम कार्ड बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रविन्द्र रेग्मीले जानकारी दिए।

उनीहरुलाई प्रहरी हिरासतमा राखी चोरी मुद्दामा थप अनुसन्धान भइ रहेको रेग्मीले बताए।

प्रतिक्रिया दिनुहोस