काठमाडौ । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि छिमेकी देश भारतमा श्रमका लागि पुगेका नेपालीहरू फर्किने क्रम बढ्न थालेको छ।कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकीबाट घर फर्कने नेपालीको संख्या दिनदिनै बढ्न थालेको हो। गड्डाचौकी नाकाबाट अन्य दिन प्रतिदिन १ सयदेखि २ सय नेपालीहरू भारतबाट फर्किने गरेको भएपनि अहिले त्यो संख्या बढेर दिनमा ५ सय भन्दा माथिको संख्यामा घर फर्किरहेका छन्।
कञ्चनपुरको गड्डाचौकी हेल्थ डेस्कका इन्चार्ज विकास भट्टले अहिले दिनमै ५ सयदेखि ८ सय जनासम्म मानिसहरू नेपाल फर्किरहेको र यो संख्या बढीरहेको बताए। उनले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर पश्चिमी नाकाहरूमा छिमेकी देश भारतमा काम गर्न गएका नेपालीहरू धमाधम नेपाल फर्किएको जानकारी दिए।
भारतबाट नेपाल फर्कने नेपालीहरूको संख्या बढेपछि नेपाली नागरिकको डाटा संकलन गर्ने कार्य भइरहेको छ। पछिल्लो समय भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेकोले नेपाल आउनेहरूले अनिवार्य ७ क्वारेन्टाइनमा बस्न र कोरोनाबिरुद्ध खोप लगाउन छुटेकाहरूले खोप लगायत तथा अनिवार्य स्वास्थ्यका मापदण्डको पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।
जुनसुकै उम्मेदवारलाई मत हाले पनि मतको कदर हुन नसकेको उनीहरूको गुनासो छ। उनीहरूले उम्मेदवारहरूले चुनावअघि विभिन्न प्रतिवद्धता जनाएपनि चुनावपछि गरेका प्रतिवद्धता बिर्सिने गरेको र आफ्नो लागि मात्रै सोच्ने गरेको भन्दै आक्रोश पोखेका छन्। नेपालमै रोजगारी सिर्जना गरेर नेपाली नागरिकलाई विदेश जानुपर्ने बाध्यताबाट मुक्त गर्नुपर्ने भारतबाट नेपाल फर्किएका नागरिकहरूको माग छ।
यो समस्या समाधान नहुँदा नेपाली नागरिकले पुनः रोजगारीको लागि विदेश जानुपर्ने बाध्यता रहँदै आएको छ। जसले राजनीतिक दल र नेताहरूमा नागरिकले विश्वास गर्न छोडेको महशुस गर्न थालेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ बैशाख २०७९, १४ : २९
लेखकबाट थप