अवैध हतियारसहित बाराबाट दुई भारतीय नागरिक पक्राउ

सफल खबर संवाददाता

शनिबार, २४ बैशाख २०७९, १४ : ०२
अवैध हतियारसहित बाराबाट दुई भारतीय नागरिक पक्राउ

काठमाडौँ । बारास्थित सिम्रोनगढबाट अवैध हतियारसहित प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

 सिम्रौनगढ–कचोर्वा सडकखण्डमा चेकजाँचको क्रममा सशस्त्र प्रहरीको गस्ती टोलीले हतियारसहित उनीहरूलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला घोडासहन थानाक्षेत्रअन्तर्गत कसवा लौखानका विनोद यादवका २३ वर्षीय छोरा पप्पु यादव र छिमेकी गाउँ भेलवा बजारका २२ वर्षीय अखिलेस सिंह रहेको मधेस प्रदेश सशस्त्र प्रहरी प्रमुख डीआईजी गणेश ठाडा मगरले बताएका छन । उनीहरूको साथबाट चाइनिज अटोमेटिक पेस्तोल एक थान, म्यागजिन एक थान त्यसमा लाग्ने गोली दुई थान, घरेलु नलकटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने गोली दुई थान बरामद गरेको डीआईजी मगरले जानकारी दिए । 

बारामा अवैध हतियार कारोबार भइरहेको सूचनाको आधारमा बाहिनीबाट सादा पोसाकमा गएको टोली र झरौखर सीमामा खटिएको सशस्त्र प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। बिआर १ सि १३१६ नम्बरको मोटरसाइकलमा आइरहेको अवस्थामा शनिबार बिहान १० बजे सिमौनगढ–कचोर्वा सडकखण्डमा रोकेर चेकजाँच गर्दा उनीहरूले कमर मुनि लुकाएर राखेको अवस्थामा उक्त हतियार बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

मोटरसाइकल र हतियारसहित दुवैजना लाई आवश्यक कारवाहीको  लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाएको सशस्त्र प्रहरी बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस