काठमाडाैँ । कवि–पत्रकार तारकिणीका लागि सहयोगको अपिलहाँडेरोगका कारण युवावस्थामै दुवै कानको श्रवणशक्ति गुमाएका कवि तथा पत्रकार राजेन्द्र तारकिणीको उपचार सहयोगार्थ सहयोगको अपिल गरिएको छ ।उनको उपचारका लागि सगरमाथा साहित्य प्रतिष्ठानले सहयोग संकलन अभियान शुरू गरेको छ ।
तारकिणी साहित्य लेखन, पत्रकारिताका साथै चित्रकलामा समेत सक्रिय हुन् । उनको हाल काठमाडौं महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ‘कक्लियर इम्प्लान्ट सर्जरी’को तयारी भइरहेको छ । यो उपचार सफल भएमा उनको श्रवणशक्ति पुनः प्राप्त हुने सम्बन्धित चिकित्सकको भनाइ छ ।
‘कक्लियर इम्प्लान्ट’ गर्नका लागि शुरूमै कम्तीमा १८ देखि २० लाखजति खर्च हुने चिकित्सकको भनाइ छ । शल्यक्रियापश्चात पनि वार्षिकरूपमा नियमित ‘म्यापिङ’ र अन्य थेरापीबापत थप ५०–६० हजार खर्च छुट्याइराख्नुपर्ने बताइएको छ ।
तारकिणी हाल न्यूज २४ नेपालमा कार्यरत हुन् । उनका यसअघि नै ३ वटा साहित्यिक कृति प्रकाशित छन् भने नयाँ कविता संग्रह प्रकाशन हुने क्रममा छ ।
प्रतिष्ठानले शुरू गरेको अभियानमा सहयोग रकम जुट्ने क्रम जारी छ । अहिलेसम्म ४ लाख ५० हजारभन्दा बढी रकमको कबोल आएको अभियान संयोजक समेत रहेका प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जीवित खड्का मगरले जानकारी दिए । राजेन्द्रप्रसाद पन्तको नाममा ग्लोबल आईएमई बैंकको कान्तिपथ शाखामा रहेको खाता नम्बर ०१०७०१००२४४९७ र एनआईसी एसिया बैंकको सुकेधार शाखामा रहेको खाता नम्बर २८८७९३१०५८५२४००१ मा सहयोग गर्न सकिने छ ।
श्रवण अपाङ्गताका बाबजुद पनि साहित्य–कला र पत्रकारिताका माध्यमबाट राष्ट्रलाई योगदान दिइराखेका प्रतिभाशाली स्रष्टा तारकिणीको उपचारका लागि हातेमालो गर्ने उद्देश्यले सहयोेग संकलन अभियान सञ्चालन गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।
प्रतिष्ठानले तारकिणीको उपचारका लागि हरेक क्षेत्र, तह र तप्काबाट आर्थिक सहयोग प्रदान गरेर अभियानलाई सफल बनाइदिन आह्वान समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ बैशाख २०७९, ११ : ३३
लेखकबाट थप