सामाजिक सुरक्षा कोषको २ महिनाको योगदान रकम योगदानकर्ताको खातामा

सफल खबर संवाददाता

शनिबार, २४ बैशाख २०७९, ११ : १६
सामाजिक सुरक्षा कोषको २ महिनाको योगदान रकम योगदानकर्ताको खातामा

काठमाडाैँ । सामाजिक सुरक्षा कोषले गत जेठ र असार महिनाको योगदान बापतको रकम योगदानकर्ताको खातामा जम्मा गरेको छ ।रोजगारदाताका तर्फबाट जम्मा गर्नुपर्ने २० प्रतिशत र योगदानकर्ताका तर्फबाट जम्मा गर्नुपर्ने ११ प्रतिशत रकम योगदानकर्ताको खातामा जम्मा गरिएको हो । 

करीब १ लाख ३० हजार योगदानकर्ताको खातामा रकम जम्मा गरिएको कोषले जनाएको छ । चालू आर्थिक वर्षको बजेटमार्फत कोषमा योगदान गर्ने योगदानकर्ताको जेठ र असार महिनाको योगदान बापतको रकम सरकारका तर्फबाट जम्मा गर्ने घोषणा गरिएको थियो । 

कोरोना महामारीका कारण रोजगारदाता र श्रमिक प्रभावित भएको भन्दै २ महिनाको योगदान रकम सरकारले नै व्यहोर्ने निर्णय गरेको थियो । सरकारबाट प्राप्त १ अर्ब ६ करोड सम्बन्धित योगदानकर्ताको खातामा जम्मा गरिएको छ । कोषले बजेटमा उल्लेख गरेअनुसार योगदानकर्ताको खातामा जम्मा गर्न १ अर्ब ३२ करोड माग गरेको थियो । 

हाल जम्मा हुनुपर्ने योगदान रकमको ८४ प्रतिशत जम्मा गरिएको र बाँकी १६ प्रतिशत निकासा प्राप्त भएपछि जम्मा गरिने कोषले जनाएको छ । अपुग रकम छिट्टै निकासा गरिने अर्थ मन्त्रालयबाट जानकारी आएको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए । पछिल्लो ६ महिनामध्ये न्यूनतम रकम जम्मा भएका आधारमा योगदानकर्ताको खातामा रकम जम्मा गरिएको छ । यसअघि पनि सरकारले ४ महिनाको योगदान बापतको रकम योगदानकर्ताको खातामा जम्मा गरिदिएको थियो । पछिल्लो २ वर्षको अवधिमा सरकारले २ पटक गरेर ६ महिनाको योगदान रकम योगदानकर्ताको खातामा दाखिला गरिदिएको छ । 

कोषमा हालसम्म १७ हजार ७४ रोजगारदाता र ३ लाख ३२ हजार ९५ योगदानकर्ता सूचीकृत भएका छन् । कोषमा १६ अर्ब ३४ करोड रुपैयाँ योगदान संकलन भएको छ । कोषले विभिन्न सुविधा योजनाअन्तर्गत १ अर्ब १५ करोड ६५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । 

जसअन्तर्गत औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुविधाबापत १६ करोड ७७ लाख, दुर्घटना तथा अशक्तता सुरक्षाबापत १ करोड ५६ लाख, आश्रित परिवार सुरक्षाबापत २ करोड ७५ लाख र अवकाश दाबीबापत ९४ करोड ५६ लाख रुपैयाँ दाबी भुक्तानी गरिएको छ । 

प्रतिक्रिया दिनुहोस