काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाको नजिकिँदो निर्वाचनका लागि प्रदेश १ का विभिन्न १० जिल्ला एक स्थानमा उभिएका छन्।
फुटबल संघभित्र देखिएका विवादसँगै प्रदेश १ बाट १० जिल्लाले प्रदेश १ बाट उम्मेदवार हुनेलाई सहयोग गर्ने औपचारिक रुपमा सहमति गरेका हुन्।धरानमा शुक्रबार भएको छलफलपछि मोरङ, सुनसरी, झापा, उदयपुर, धनकुटा, खोटाङ, भोजपुर, इलाम, पाँचथर, ताप्लेजुङले केन्द्रीय महाधिवेशनमा एक हँुदै सामूहिक रूपमा मतदान गर्ने सहमति गरेका हुन्।
बैठकपछि मोरङ जिल्ला फुटबल संघका सदस्य वसन्त आर्यालले एकताबद्ध रूपमा गरिने मतदानका विषयमा यसअघि नै सामूहिक सहमति भए पनि औपचारिकता बैठकले दिएको जानकारी दिए।
बैठकमा मोरङका अध्यक्ष सञ्जीव बुढाथोकी, झापाबाट भागीरथ आले, उदयपुरबाट रञ्जन कार्की, धनकुटाबाट मणिकुमार चेम्जोङ, भोजपुरबाट प्रवीण सुवाल, इलामबाट विक्रम श्रेष्ठ, पाँचथरबाट गणेश राई, ताप्लेजुङबाट अशोक लिम्बू र खोटाङबाट जिल्लाका महासचिव काजीमान राईले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
एन्फाको केन्द्रीय महाधिवेशन असार ६ गतेका लागि तोकिएको छ। एन्फाभित्र हाल अध्यक्ष कर्माछिरिङ शेर्पासँग असन्तुष्ट रहेका खेमाले उम्मेदवारी दिने बताइएको छ। यस क्रममा झापा धुलाबारीका पंकजविक्रम नेम्बाङलाई अध्यक्षको दाबेदारीमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ बैशाख २०७९, १७ : १८
लेखकबाट थप