काठमाडौं । देशभर खाना पकाउने एलपी ग्याँस मासिक ३० लाख सिलिन्डर मात्रै खपत हुन्छ । अप्रिल महिनामा भारतीय आयल कर्पोरेसन्स (आईओसी) बाट ४७ हजार टन अर्थात् ३३ लाख सिलिन्डर ग्यास भित्रिएको छ । नेपाल आयल निगमको यो तथ्यांकअनुसार बजारमा ग्याँस पर्याप्त उपलब्ध हुनुपर्ने हो तर बजारको अवस्था हेर्दा निगमको यो अभिलेख झूटो सावित हुन्छ ।
हाल मुलुकभर ५९ वटा ग्याँस कम्पनीहरू छन् । ती कम्पनीका करिब डेढ करोड सिलिन्डर बजारमा उपलब्ध छन् । तर, अधिकांश कम्पनीका ग्याँस सिलिन्डर अहिले सहजै पाइँदैन । निजी मात्रै होइन, सरकारी ग्याँस उत्पादन कम्पनी एसटीसीकै पनि ग्यास सिलिन्डरको अभाव छ । निगमले ग्यास अभाव नरहेको दाबी गरे पनि अवस्था सहज नभएको बताउँछन्, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना । ‘निगमले पर्याप्त र सहज भनेर आफ्नो कमी कमजोरी लुकाउन खोजेको छ । ग्याँसकै लागि दुई/तीन साता कुर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘निगमले झूट बताइरहेको छ ।’
एक महिनाअघि ग्याँस उद्योगीहरूले बाह्य तथा आन्तरिक ढुवानी भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा प्रणाली कायम गर्न माग गर्दै आन्दोलन गरेका थिए । जसका कारण चैत ६ देखि दुई सातासम्म ढुवानीमा अवरोध हुँदा बजारमा ग्याँस अभाव देखिएको हो । त्यस्तै, अर्थमन्त्री जनार्दन शर्माले इन्धनको मूल्य स्वचालित प्रणालीअनुसार तोक्न वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिएपछि ग्यासको मूल्य बढ्ने आकलन गर्दै व्यवसायीले समेत ग्याँस लुकाएका छन्, सर्वसाधारणले पनि ग्याँस मौज्दात राख्दा बजारमा अभाव चुलिएको हो ।
‘सरकारले ग्याँस आपूर्ति भइरहेको दाबी गरे पनि ठाउँठाउँका डिलरमा ग्याँस छैन । कम्पनीबाट ग्याँस नै आएको छैन । एउटा मात्रै सिलिन्डर भएको उपभोक्तालाई थप समस्या भयो, डिलरलाई तनाव छ,’ ग्याँस बिक्रेता महासंघका वरिष्ठ उपाध्याक्ष चन्द्र थापाले भने, ‘गर्मीयाममा ग्याँस खपत कम हुने सिजन हो तर पनि निगमले भनेझैं बजारमा सहज छैन । ग्याँस अभाव छ ।’
निगमले ग्याँसको पीडीओ दिएपछि नेपाल एलपी ग्याँस उद्योग संघले आईओसीको पारादिप, हल्दिया, बरौनी र मथुरा रिफाइनरीबाट ग्याँस आयात गर्छ । पछिल्लो समय आईओसीबाट पर्याप्त ग्याँस लोड नहुँदा पनि बजारमा समस्या देखिएको संघका उपाध्यक्ष मनोजकुमार दासले बताए । ‘निगमले एलपी ग्याँस भित्र्याउन पीडीओ दिएको छ तर बुलेटहरू हप्ता दिनभन्दा बढी लाइनमा बस्नुपर्ने अवस्था छ । ७/८ दिनमा बल्ल एउटा बुलेटले लोडिङको पालो पाएको छ । यस्तो अवस्थामा कहाँबाट तुरुन्त उत्पादन हुन्छ उनले भने, ‘निगमको कागजमा मात्रै ग्यास पर्याप्त छ, व्यवहारमा छैन ।’
अहिले ढुवानीका क्रममा देखिएको समस्या निगमले तत्काल सम्बोधन गर्नुपर्ने संघको भनाइ छ । दासका अनुसार यसअघि आईओसीको रिफाइनेरीबाट करिब ८ दिनमा २ ट्रिप ग्यास ढुवानी हुन्थ्यो । अहिले मुस्किलले एक ट्रिप मात्रै भइरहेको छ । ‘बरौनी रिफाइनेरीमा बुलेटहरू लामबद्ध अवस्थामा छन् । हल्दिया र मथुराबाट लोडिङ नै कम भइरहेको छ,’ उनले भने, ‘निगमले त्यसतर्फ पहल गरिदिए ग्यास लोड र आपूर्ति गराउन सहज हुन्थ्यो ।’ पीडीओ पर्याप्त दिए पनि ढुवानीमा समन्वय नगरिदिँदा पीडीओको अर्थ नभएको उनको भनाइ छ । संघका पूर्वअध्यक्ष शिव घिमिरेले एक महिनाअघि हल्दिया रिफाइनेरीबाट दैनिक ४० बुलेट ग्यास लोडिङ भएकोमा अहिले करिब १५ बुलेटमा सीमित भएको बताए ।
‘अन्यमा पर्याप्त लोडिङ छैन । बरौनी रिफाइनेरीमा १००/१२५ बुलेटहरू लाइनमा छन्,’ उनले भने, ‘खासमा व्यवस्थापनमा समस्या हो । निगमको योजनामै खोट छ ।’ मासिक थप १५ हजार टन ढुवानी बढाउन नसक्दा बजारमा अभाव कायम रहेको उनले बताए । निगमका एलपीजी तथा एभिएसन विभाग प्रमुख नेत्र काफ्लेले भने ग्यास बुलेट लाइनमा राखेर बढी ल्याउनुपर्नेमा उद्योगीहरूले नल्याएको आरोप लगाए । ‘ट्रान्सपोर्टररढुवानीकर्ता उहाँहरूकै हो । हाम्रोतर्फबाट जति पीडीओ दिनुपर्ने हो, दिएकै छौं,’ उनले भने, ‘भारतले एउटा रिफाइनेरीबाट यतिभन्दा दिन सक्दैनौं भन्छ, त्यही भएर त्यति मात्रै पठाउँछ ।’
उनका हल्दियामा मासिक ७ हजार टन मात्रै लोडिङ दिन सक्छ । त्योभन्दा बढी लोड गर्न आईओसीले अस्वीकार गरिरहेको छ । ‘हल्दियाबाहेक बरौनीमा धेरै लोड दिन्छ । त्यहाँ बुलेट लाइनमा राख्नुपर्यो । पारादीपमा पनि लोड दिन्छ,’ उनले भने, ‘कुन रिफाइनेरीबाट कति उत्पादन गर्ने भन्ने पाटो आईओसीको हो । हाम्रोतर्फबाट लोडिङ बढाउन पहल भइरहेको छ ।’ उनले बजारमा ग्यास नबिक्ने अवस्थामा रहेको दाबीसमेत गरे । ‘एकरदुई कम्पनीका बाहेक अरूमा समस्या छैन, नबिक्ने अवस्थामा छ । बाबा, श्री, एभरेस्ट, सगरमाथा, उग्रचण्डी, एचपी ग्यास पर्याप्त छ । सर्वसाधारणको चाप बढी मात्रै हो,’ उनले भने, ‘नेपाल ग्यासको हकमा बजार ठूलो (उपत्यकामा करिब २० प्रतिशत) छ ।
उद्योगीले बुलेट लाइनमा राखेर ढुवानी गर्नुपर्यो । निगम एउटा कम्पनी चलाउन लाग्दैन, कम्पनीहरू आफैंले चलाउनुपर्यो ।’वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लीलाप्रसाद शर्माले ग्यास अभावबारे क्षेत्रगत रूपमा दैनिक ४ टोलीलाई अनुगमनमा खटाएको बताए । ‘ग्यास आपूर्ति र बजारको अवस्थाबारे एकसाता व्यापक अनुगमन गर्यौं । दर्जन जति व्यवसायीलाई कारबाही पनि भयो,’ उनले भने, ‘७७ जिल्लाकै संयन्त्रबाट अनुगमन हुन सके बजारमा तत्काल सुधार हुन्थ्यो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ बैशाख २०७९, १२ : ०२
लेखकबाट थप