काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिकाको एक सहकारीका सदस्यहरुले तरकारी खेती थालेका छन्। आयआर्जन बढाउन र स्वरोजगारी सिर्जना गर्न उनीहरुले तरकारी खेती सुरु गरेका हुन्।
खार्पुनाथ गाउँपालिका–४ को छिप्रा गाउँको दुधकण्ठ कृषि सहकारी संस्थाकी अध्यक्ष रंगमती शाहीले आयआर्जनमा वृद्धि गर्न सहकारीका सदस्य मिलेर तरकारी खेती गरिएको बताइन्।गत वर्षसम्म सदस्यहरुले केही जमिनमा मात्र तरकारी खेती गर्दै आएकोमा यस वर्षबाट व्यवसायिक रुपमा तरकारी खेती सुरु गरेका हुन्।
उक्त सहकारीमा आवद्ध २४६ जना सदस्यमध्ये ३७ जना सदस्यहरु मिलेर ४० रोपनी जग्गामा तरकारी खेती गरिएको छ। कुल तरकारी लगाएको जमिनमध्ये २० रोपनीमा प्याज मात्र लगाइएको छ।तरकारी खेतीमा संलग्न अदान रावलले आम्दानीको श्रोत बढाउन सदस्यहरुको सामुहिक निर्णयबाट तरकारी खेती गरिएको बताए। उनले यसअघि थोरै जग्गामा तरकारी खेती गरेर पनि आम्दानी हुन थालेपछि किसानहरु तरकारी खेतीमा आकर्षित भएको बताए।
उत्पादित तरकारीको लागि बजारको समस्या नभएका कारण पनि किसानको तरकारी खेतीमा आर्कषण बढेको हो। तरकारी खेतीका लागि गुड नेवर्स इन्टरनेसनल नेपाल र स्थानीय सहयोगी संस्था स्नोल्याण्ड एकीकृत विकास केन्द्रको आर्थिक तथा प्राविधिक सहयोग यसअघि किसानका लागि रहँदै आएकोमा यस वर्षबाट भने किसानले आफ्नै लगानीमा सो खेती सुरु गरेका हुन्।
केन्द्रका प्राविधिक जंगबहादुर शाहीले हाल किसानले तरकारी खेती गरिरहेको क्षेत्र तरकारी पकेट क्षेत्रका रुपमा विकास गर्न लागिएको बताए।यस वर्ष किसानका लागि क्षमता विकासका कार्यक्रम भने संस्थाले सञ्चालन गर्दै आएको छ। गतवर्ष सोही सहकारी संस्थाका सदस्यहरुले पच्चीस लाखको प्याज बिक्री गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० बैशाख २०७९, १४ : २३
लेखकबाट थप