वैशाख २५ देखि मदिरा बिक्री वितरण गर्न नपाइने

सफल खबर संवाददाता

मंगलबार, २० बैशाख २०७९, १२ : ५९
वैशाख २५ देखि मदिरा बिक्री वितरण गर्न नपाइने

काठमाडौं ।गोरखा जिल्लामा आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा रोक लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले  आयोजना गरेको सर्वपक्षीय बैठकमा निर्वाचनका बेला  शान्ति सुरक्षामा हुन सक्ने घटनालाई दृष्टिगत गर्दै  यही वैशाख २५ गतेदेखि आगामी जेठ ७ गतेसम्म जिल्लाभर मदिराको प्रयोगमा रोक लगाउने निर्णय गरिएको हो ।

जिल्लाभर नै होटल, रेष्टुरेण्टलगायत अन्य पेशा व्यवसाय बिहान ७ बजेदेखि साँझ ९:३० बजेसम्म मात्र सञ्चालन गर्न पाउने सोमवार बसेको बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए । 

निर्वाचनका लागि प्रचारका क्रममा दलहरूबीच शान्ति सुरक्षामा खलल  हुने खालका गतिविधि हुन नदिन एकै स्थान, समय र बाटो पर्ने गरी कार्यक्रम आयोजना नगर्ने, चुनाव प्रचारप्रसारका लागि कार्यक्रम गर्दा स्थानीय प्रशासनलाई जानकारी गराएर मात्र सञ्चालन गर्ने सहमति पनि सर्वपक्षीय बैठकमा भएको उनको भनाइ थियो ।

बैठकमा निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने, दलहरूबीच प्रचारप्रसारका कार्यक्रम गर्दा सामाजिक सद्भाव कायम राख्ने गरी सञ्चालन गर्ने र निर्वाचन अवधिभरसम्म आवश्यक पर्ने अत्यावश्यक वस्तु तथा सेवाको अभाव हुन नदिन उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्शलगायत संघसंस्थाले आवश्यक व्यवस्था मिलाउने सहमति पनि भएको थियो ।

प्रतिक्रिया दिनुहोस