पत्रकारहरुको पेशागत सुरक्षाको अभाव जनाउँदै ३ सयभन्दा बढी उजुरी महासंघमा दर्ता

सफल खबर संवाददाता

मंगलबार, २० बैशाख २०७९, १२ : २८
पत्रकारहरुको पेशागत सुरक्षाको अभाव जनाउँदै ३ सयभन्दा बढी उजुरी महासंघमा दर्ता

काठमाडौं ।आज मे ३ विश्व प्रेस स्वतन्त्रता दिवस मुलुकभर मनाइदै छ । यो अवसरमा नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा काम गर्दा मृत्युवरण हुन पुगेका पत्रकारहरुको स्मरणमा बनाइएको स्मारकमा माल्यार्पण गरी  वर्षभरिको प्रेस स्वतन्त्रताको अवस्थाको समीक्षा अवको बाटो कस्तो अपनाउने भन्ने निष्कर्षको खोजी गर्नेगरी कार्यक्रमको आयोजना गरेको छ । 

दिवसको अवसरमा शुभ कामना सन्देश सार्वजनिक गर्दैं महासंघका अध्यक्ष विपुल पोखरेलले नेपाली पत्रकारिता क्षेत्र अझै पनि सुरक्षाका दृष्टिकोणले सन्तोष गर्न सकिने अवस्था नरहेको बताए ।  उनले भनेका छनु, ‘भौतिक हमला र पेशागत असुरक्षा दुबैले पत्रकारहरुलाई त्रासमा राखेको अवस्था छ ।’ महासंघ सञ्चार अनुगमन इकाईको तथ्यांक अनुसार यस वर्ष पत्रकारहरुको पेशागत सुरक्षाको अभाव जनाउँदै ३ सयभन्दा बढी उजुरीहरु आएका छन् । त्यस्तै  प्रेस स्वतन्त्रता हननका ७५ वटा घटनाहरु भएको देखिन्छ । प्रेस स्वतन्त्रता हननका सबैभन्दा बढी घटना बागमती प्रदेशमा भएको महासंघले जनाएको छ । 

बागमतिमा ५४ वटा त्यस्ता घटनाहरु भएका छन्,  । १ नं प्रदेश र मधेस प्रदेशमा बराबरी अर्थात ६–६ वटा हननका घटना भएका छन् । त्यस्तै कर्णाली प्रदेशमा ५ र लुम्बिनी तथा गण्डकीमा २–२ वटा घटना भएका छन् । सुदूरपश्चिम प्रदेशमा भने योपटक हननका घटनाहरु भएको पाइएको छैन । प्रेस स्वतन्त्रता हननका यी ७५ वटा घटना हुुँदा २ सय ७२ जना सञ्चारकर्मी र ९ सञ्चारगृह पीडित भएकाे महासंङकाे तथ्यांकामा उल्लेख छ । २ सय ७२ मध्य ३३ जना महिलाहरु पीडित भएका छन् ।  अघिल्लो वर्षको पत्रकार महासंघको अभिलेखमा प्रेस स्वतन्त्रतामाथिको प्रहारका घटनाहरू ४५ वटा थिए भने ती घटनाबाट जम्मा ५ सय ८४ पत्रकार र ३ वटा संचारसंस्था पीडित बनेका थिए ।

५ सय ८४ पत्रकारमध्य ७७ पत्रकारहरू महिला रहेको महासंघको तत्यांकमा उल्लेख छ ।  अभिलेखअनुसार यो वर्ष ३ जना पत्रकार गिरफ्तारीमा परे भने आक्रमण, दुव्र्यवहार र धम्कीबाट २९ जना पत्रकार पीडित भएका छन् । त्यस्तै पेशागत असुरक्षाको मार ३१ जना पत्रकारले खेप्दै छन् । त्यस्तै कानुन बनाएर प्रेस स्वतन्त्रतालाई संकुचन गर्न खोज्ने काम ३ पटक भएको छ ।  

उल्लिखित तथ्यांकका आधारमा नेपाली प्रेस अझै पनि पेशागत र भौतिक सुरक्षाका सवालमा सन्तोष गर्न सकिने अवस्थामा नभएको माहासंघले विज्ञप्तिमार्फत जनाएको छ ।महासंघले  प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्भिकतापूर्वक उभिई पत्रकारिताको माध्यमबाट राष्ट्र र समाजको हितमा काम गर्न सबैमा प्रेरणा मिलोस् भन्दै विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सबैमा शुभकामना व्यक्त गरेको छ । 

प्रतिक्रिया दिनुहोस