गोरखामा जीप दुर्घटना

सफल खबर संवाददाता

मंगलबार, २० बैशाख २०७९, १२ : १२
गोरखामा जीप दुर्घटना

काठमाडौं । गोरखामा जीप दुर्घटनामा परी मृत्यु भएका तिनै जनाको पहिचान खुलेको छ ।दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–५ चनौटे घर भएका ५० वर्षीया देवी पोखरेल, नवलपुर जिल्ला कावासोती नगरपालिका–१४ का ८० वर्षीय कृष्णप्रसाद सिग्देल र काठमाडौँ महानगरपालिका–१६ बस्ने ५१ वर्षीय कमलराज दानी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक  लीलाराज कोइरालाले जानकारी दिए ।

सिरानचोक गाउँपालिका–५ मा पर्ने आरुबोटेमा सोमबार साँझ करिब ७ बजे दुलही लिएर फर्कने क्रममा रोकिराखेको बा१४च ७८१ नंको स्कोपियो जीप भिरबाट खसेर दुर्घटनामा परेको थियो । जन्ती चढ्ने क्रममा एक जनाले ह्याण्डब्रेक चलाइदिएका कारण सो दुर्घटना भएको उनले बताए  ।

चालक चढ्न नपाउँदै जन्ती चढ्ने क्रममा सो घटना भएको थियो । जीप आरुबोटेस्थित फिरफिरे भिरबाट झण्डै २०० मिटर तल खसेको थियो ।जिपमा पाँच जना सवार रहेकामा अन्य दुई जनाले भने हामफालेर ज्यान जोगाएको प्रहरीको भनाइ छ । मृतक तिनै जनाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । शव परीक्षण गरी अन्त्येष्टिका लागि परिवारलाई बुझाइने प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस