श्रमिकका गुनासाः खानै पुग्दैन कमाइले

रासस

आइतबार, १८ बैशाख २०७९, १२ : ५५
श्रमिकका गुनासाः खानै पुग्दैन कमाइले

चितवन । भरतपुरमा कोठा भाडामा लिएर राखिएको परिवारलाई पाल्न यातायात मजदूर विष्णु विकलाई दैनिक चलाउन मुस्किल छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन नारायणगढ पुल्चोकमा भेटिनु भएका विकले दैनिकी गुजारामा चलाउने गरेका छन। 

दुई छोराछोरी र श्रीमतीलाई बसमा सहचालकबापत पाउने तलब र भत्ताले बिहान, बेलुकाको गर्जो टार्न मुस्किल छ । विकले गुनासो गर्दै भने “राम्रो लगाउन र मिठो खानेकुरा नगर्नुहोस्, कोभिडको बेलाको ऋण तिर्न नसकेर घर बस्ने नसकिने भएको छ ।” मासिक मुस्किलले पाइने रु १५ हजारले के गर्ने ? कोठाभाडा, दैनिक रासन, छोराछोरीलाई कपिकिताब पु¥याउन कठिन छ, उनले गुनासो गरे ।
 
उनले बस चलेको दिन दैनिक पाँच सय भत्ता र मासिक रु तीन हजार तलब पाउने भए पनि दैनिक बस सञ्चालन नहुँदा कमाइ राम्रो नहुने बताए । उनले भने, “बसको पालो अनुसार काम पाइन्छ । बस नचलेको दिन काम पनि हुँदैन ।” भरतपुरको चौबीसकोठीमा ना ६ ख ९५६१ नं को बसका सहचालक केशव काफ्लेको गुनासो पनि विकको जस्तै छ । उनले भने “गाडी चलेको दिन खाने हो नभए भोकै बस्नुपर्ने अवस्था छ ।” भत्ताको भरमा काम गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । उनले भने, “गाडी चलेको दिन खाने हो, नभए भोक्कै बस्नुपर्ने अवस्था पनि आउँछ कहिले काहीँ ।”
 
भरतपुरका विभिन्न क्षेत्रमा ई–रिक्सा सञ्चालन गर्दै आउनु भएका रुद्रप्रसाद तिमिल्सिनाले अहिले दैनिक गुजारा चलाउन कठिन भएको गुनासो गरे । विगत ७ वर्षदेखि रिक्सा चलाउँदै आउनु भएका तिमिल्सिना बढ्दो महँगीका कारण दैनिक कमाइले खान बस्नसमेत कठिन बन्दै गएको बताए । उनले भने “कमाई खासै छैन । पहिला दैनिक रु दुई हजार हाराहारी कमाइ हुन्थ्यो । अहिले झरेर सात सय पु¥याउन पनि मुस्किल छ । यसले के खाने के लगाउने ।” पहिला रु एक हजार ५०० मा पाइने कोठा अहिले बढेर तीन हजार ५०० भन्दा बढी भइसकेको बताउँदै उहाँले यसरी नै महँगी बढ्दै गए स्वरोजगार बनेको पेशाबाट पलायन बन्नु पर्ने स्थिति आउने बताए ।
 
एक दशकदेखि भरतपुरको चौबिसकोठिमा मोचीको काम गर्दै आएका रामजतन रामको पीडा पनि उस्तै छ । बाराको देवताल गाउँपालिकाबाट चितवन आएर जुत्ता चप्पल सिलाउने काम गर्दै आएका उनले अहिलेको महँगीका कारण एक्लो जीवन चलाउन समेत कठिन बन्दै गएको बताए । उनले भने “कहिलेकाहीँ त खाना खानसमेत सापटी माग्नुपर्ने अवस्था छ ।” पहिला पहिला दैनिक ७ सय सम्म कमाई हुने गरेको भए पनि अहिले त्यस्तो अवस्था नरहेको उनको भनाइ छ । उनले भने, “घरका सदस्य बिरामी परे भने ऋण खोजेर उपचार गर्नुपर्ने अवस्था आउँछ ।”
 
भरतपुर महानगरपालिका–१० स्थित अस्पताल रोडमा फलफुलको ठेला धकेली रहेका गोविन्द भट्टराईले दिनभारी व्यापार गरेर पनि खासै कमाउन नसकेको बताए । उनले भने, “व्यापार गर्न सडकमा झरेपछि नगरपालिका, ट्राफिक प्रहरी र टोलसुधारले लखेट्ने गरेका छन् । अनि कसरी व्यापार गरेर खान सकिन्छ ।” दैनिक ५ सय देखि ७०० मात्रै कमाइ हुनेगरेको भन्दै उनले तीन वर्षदेखि आफ्नै व्यवसाय गरौँ भनेर लागेको तर छोराछोरी पढाउन कठिन भएको बताए।
 
ट्रेडयुनियन कांग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटाले अहिलेको मजदूरको न्यूनतम तलबले एक्लै पनि पालिन नसक्ने आवस्था रहेको बताए । उनले भने, “मासिक रु १५ हजार तलबले कस्को परिवार पालिन्छ ?” त्यसमाथि चुलिएको महँगीका कारण मजदूरको जीवनयापन असहज बनेको उनको भनाइ छ । काम नहुँदा बेतलवी बिदा दिने परिपाटी बढेको भन्दै उनले धेरै उद्योगले १५ दिन काम दिने र १५ दिने बेतलवी बिदा दिने गरेको सापकोटाले बताए । उनले भने, “राज्यको नीति नै मजदूरमैत्री छैन ।” न्यूनतम पनि रु २० हजारभन्दा घटीले मजदूर चल्न नसक्ने सापकोटाले बताए । 

अखिल नेपाल ट्रेड युनियन महासङ्घ चितवनका अध्यक्ष यदुमणि कँडेल क्षमता अनुसारको पारिश्रमिक मजदूरले पाउनुपर्ने बताउछन । उनले भने, “काम गरेको पारिश्रमिकले परिवार चल्नुपर्छ ।” एउटा परिवार पालिनका लागि मासिक रु २५÷३० हजार खर्च हुने गरेको भन्दै उनले महँगीका कारण मजदूर मारमा परेको बताए। ठेकेदारी प्रथाले मजदूरलाई प्रभावित बनाएको उनको ठम्याइ छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफण्ट) भरतपुरका अध्यक्ष रुद्र उप्रेती अहिलेको पारिश्रमिकले परिवार पाल्न मजदुरले नसकेको बताए । 

उनले भने, “कम्तीमा पनि रु २० हजार भएन भने परिवार चल्दैन ।” मजदूरको परिवार पालिने गरी पारिश्रमिक दिने व्यवस्था हुनुपर्ने उप्रेतीको भनाइ छ । बेतलवी बिदा दिने परिपाटीले मजदूर झन बढी प्रभावित भएको उनले बताए । सबै क्षेत्रका मजदूर पछिल्लो समयको महँगीको कारण थप प्रभावित भएको उनीहरुको भनाइ रहेको छ । महँगीको अनुपातमा ज्याला र पारिश्रमिक वृद्धि गर्दै लैजानुपर्नेमा सबैको जोड थियो ।
–––

प्रतिक्रिया दिनुहोस