काठमाडौं । दुई दशकअघि नै पप गीतहरु गाएर दर्शक तथा स्रोताको मन जित्न सफल पप गायक सञ्जय किशोर श्रेष्ठले पुरानो ‘धेरै भो किन तिमी आउँदैनौ’ रि–एरेञ्ज तथा रि–रेकर्ड गर्दै ल्याएका छन् ।
झण्डै १८ वर्षअघि लोकप्रिय यो पप गीतमा जेम्स प्रधानको शब्द तथा संगीत समावेश छ । संगीतकर्मी प्रधानकै अनुमति लिएर गायक श्रेष्ठले यो गीतलाई पुनः रेकर्ड गरेका हुन् । रि रेकर्डिङ गरिएको गीतमा तुन्नाबेल थापाको संगीत संयोजन र मनिष गन्धर्वको सारंगीवादन समेत समेटिएको छ । सन् २००४ यो गीत ‘बजेट २००४ः इमोशन’ एल्बममा समावेश थियो ।
गीतको भिडियो पनि बनाइएको छ । सोनम पाख्रिनको निर्देशन रहेको भिडियोमा अभिनेता तथा मोडल जोर्डन राजभण्डारी तथा अभिनेत्री अञ्जली अधिकारीका साथमा राम भण्डारी, किरण कुमार शर्मा, जयराम बर्मा, ममता दाहाल, गीता थापा लगायत कलाकारको अभिनय देख्न सकिन्छ ।
वियोगान्त कथा चित्रण गरिएको भिडियोमा अभिनेता जोर्डन राजभण्डारीले आकर्षक अभिनय गरेका छन् । उनले गम्भिर चरित्रलाई सहजताका साथ निर्वाह गरेका छन् । अभिनेत्री अञ्जली अधिकारीको अभिनयको हाउभाउ आकर्षक देखिन्छ । भिडियोमा निसल पौडेलको छायांकन, विकास दाहालको सम्पादन छ ।
गायक सञ्जय किशोरले गीतको नयाँ संस्करणलाई अनप्लग्ड शैलीमा गाएको बताउँदै यसमा सारंगी, गिटार तथा किबोर्डहरु खेलाइएको स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ बैशाख २०७९, ११ : ४९
लेखकबाट थप