बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

बुधबार, ०२ जेठ २०७५, १३ : ११
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

चितवन । इच्छाकामना गाउँपालिका–७ सिमलढापमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुरबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ३१३८ नम्बरको बसको ठक्करबाट स्थानीय पैदलयात्री ७० वर्षीया धनमाया गुरुङको मृत्यु भएको हो । हिजो मंगलबार भएको दुर्घटनामा परेर गम्भीर घाइते भएकी गुरुङको उपचारका क्रममा चितवन मेडिकल कलेजमा साँझ नै मृत्यु भएको छ । इच्छाकामना–७, सिमलढापमा बसले यात्रु झारेर अगाडि बढ्न लाग्दा पैदल हिँडिरहेकी गुरुङलाई ठक्कर दिएको थियो । ठक्कर दिने बसका चालकलाई बससहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यसैबीच, नवलपरासीको कावासोती–१६ कोसटाढीमा आज बुधबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मध्यबिन्दु नगरपालिका–१२ बस्ने भूपूचोकका ३१ वर्षीय तिलप्रसाद थापाको मृत्यु भएको हो ।
दुर्घटनामा परेर घाइते भएका थापाको उपचारको क्रममा दुम्कौली प्राथमिक स्वास्थ्य चौकीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पूर्व—पश्चिम राजमार्गमा बिग्रिएर रोकिएको लु १ ख ५३८४ नम्बरको ट्रकको पछाडि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १६ प २८४९ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । मोटरसाइकलमा पछाडि सवार कावासोती नगरपालिका–२ बस्ने ३१ वर्षीय दण्डबहादुर पुन गम्भीर घाइते भएका छन् । उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस