आईपीएल : राजस्थान रोयल्सलाई ६ विकेट हराउँदै कोलकता नाइट राइडर्स विजयी

बुधबार, ०२ जेठ २०७५, ०८ : ३५
आईपीएल : राजस्थान रोयल्सलाई ६ विकेट हराउँदै कोलकता नाइट राइडर्स विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको कोलकता नाइट राइडर्सले राजस्थान रोयल्सलाई हराएको छ । मंगलबार राति भएको खेलमा कोलकताले राजस्थानलाई ६ विकेटले पराजित गरेको हो ।

कोलकतास्थित इडेन गार्डेन्स स्टेडियमा राजस्थानले दिएको १४३ रनको लक्ष्य घरेलु टोलीले १८ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । कोलकताको जितमा क्रिस ल्यानले ४५ तथा कप्तान दिनेश कार्तिकले अविजित ४१ रन जोडे । त्यस्तै सुनिल नारिने र नितिश रानाले समान २१ – २१ रनको योगदान दिए । राजस्थानका बेन स्टोक्सले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले १९ ओभरमा अलआउट हुँदै १४२ रन जोडेको थियो । राजस्थानका लागि जोस बटलरले ३९ रन जोड्दा राहुल त्रिपाठीले २७ रन जोडे । त्यसबाहेक राजस्थानका जयदेव उन्नाकडले २६ र सन्जु सामसनले १२ रन जोडे । राजस्थानलाई सस्तैमा समेट्न कोलकताका कुलदिप यादवले ४ विकेट लिए । यस्तै आन्द्रे रुसेल र प्रसिद्ध कृष्णले समान २ – २ विकेट लिए ।
यो जितसँगै कोलकता आईपीएलको प्ले अफ नजिक पुगेको छ । जितपछि तेस्रो स्थानमा उक्लिएको कोलकताले १३ खेलबाट १४ अंक जोडेको छ । पराजित राजस्थानको पनि प्ले अफ सम्भावना कायम रहेको छ । चौथो स्थानमा रहेको राजस्थानको १३ खेलबाट १२ अंक रहेको छ ।

आईपीएलको शीर्ष स्थानमा सनराइजर्स हैदरावाद र दोस्रो स्थानमा चेन्नई सुपर किंग्स रहेका छन् । १२ खेलबाट हैदरावादले १८ अंक जोडेको छ भने चेन्नईले १६ अंक जोडेको छ । शीर्ष दुई स्थानमा रहेका हैदरावाद र चेन्नई प्ले अफमा पुगिसकेको छ । -एजेन्सी

प्रतिक्रिया दिनुहोस