टेलिकमको प्रबन्ध निर्देशकमा पौडेलकोे नियुक्तीसँगै किन निम्तियो विवाद ?

पत्रपत्रिकाबाट

शनिबार, २६ चैत्र २०७८, ०८ : १५
टेलिकमको प्रबन्ध निर्देशकमा पौडेलकोे नियुक्तीसँगै किन निम्तियो विवाद ?

काठमाडौं । विवादास्पद छविका सुनील पौडेललाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरिएको भन्दै कर्मचारीहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले पौडेलको नियुक्ति अविलम्ब फिर्ता लिन माग गर्दै आन्दोलनको चेतावनी दिएका छन्। 

मन्त्रिपरिषद्को बिहीबारको बैठकले राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक पौडेललाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो। सेक्युरिटी प्रेस खरिद र औषधि खरिदमा विवादित बनेको ओम्नी ग्रुपसँग जोडिएका पौडेलको नियुक्तिप्रति टेलिकमका कर्मचारीले आपत्ति जनाएका हुन्। 

टेलिकम वर्कर्स युनियनले पौडेलको नियुक्तिप्रति गम्भीर असहमति जनाएको छ। ‘नियुक्तिमा बारम्वार कार्यविधि परिवर्तन गरिनुले सुशासनको धज्जी उडेको छ,’ युनियनका महासचिव महेश्वर खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ। पौडेललाई नियुक्त गर्न सरकारले कार्यविधिमा व्यापक संशोधन गरेको थियो। वर्कर्स युनियनका अध्यक्ष राजेन्द्र जोशीले पौडेलको नियुक्तिविरुद्ध कर्मचारीहरू आन्दोलनमा उत्रने बताए। 

डिल्लीराम अधिकारीको कार्यकाल समाप्त भएपछि पुस १८ गतेबाट प्रबन्ध निर्देशक पद रिक्त थियो। सञ्चार मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा गठित समितिले टेलिकममा कार्यरत दुई जना र पौडेल गरी तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो।

टेलिकमका पूर्वप्रबन्ध निर्देशक बुद्धि आचार्य, ११ औं तहकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी अर्यालको नाम पनि सिफारिस गरिएको थियो। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस