प्रादेशिक अस्पताललाई प्रतिष्ठानबाट अलग गर्न माग गर्दै प्रदर्शन

सफल खबर संवाददाता

शुक्रबार, २५ चैत्र २०७८, १६ : ०९
प्रादेशिक अस्पताललाई प्रतिष्ठानबाट अलग गर्न माग गर्दै प्रदर्शन

काठमाडौं । प्रादेशिक अस्पताल जनकपुरधाम मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत आएपछि स्वास्थ्यकर्मी आन्दोलित भएका छन्।प्रादेशिक अस्पताल जनकपुरधामका स्वास्थ्यकर्मी तथा अस्पताल मातहत रहेको नर्सिङ कलेजका विद्यार्थी नगरमा प्रदर्शन गर्दै मधेस प्रदेशका सभामुखलाई ज्ञापन पत्र बुझाएका छन्।

तिनीहरू तीनबुँदे माग राख्दै प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेका छन्। प्रादेशिक अस्पताल जनकपुरधामलाई पूर्ण सरकारी संस्था कायम गर, प्रादेशिक अस्पताल जनकपुरधाम मातहत रहेको एक मात्र जनकपुर नर्सिङ क्याम्पसलाई अन्यत्र सार्न पाइँदैन र विकास समितिलगायत कर्मचारीलाई पूर्णरूपमा व्यवस्था गर भन्दै तिनीहरूले विभिन्न प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।

प्रादेशिक अस्पताल जनकपुरधामका चिकित्सक डा. रामनरेश पण्डितले प्रादेशिक अस्पताललाई मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत नराखी छुट्टै राख्नुपर्ने धारणा व्यक्त गरे। उनले भने, ‘प्रादेशिक अस्पताल छुट्टै अस्पताल हुनुपर्‍यो। हामी चाहन्छाैँ मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि छुट्टै बनोस् र यो प्रादेशिक अस्पताल प्रदेशभरिको सेन्ट्रल अस्पताल बनोस्। किनभने यो प्रदेश सबैभन्दा बढी जनसंख्या भएको प्रदेश हो र यो प्रदेशमा अशिक्षा, गरिबी र रोग बढी भएको प्रदेश हो।’

प्रादेशिक अस्पताल प्रतिष्ठानअन्तर्गत नै आएपछि दुबै मिलेर चले खिच्डीजस्तै अवस्था हुने डा. पण्डितले बताए।उनले भने, ‘यहाँ तीन प्रकारका कर्मचारी छन्, एउटा नेपाल सरकारको जो लोकसेवाबाट आएका छन्, अर्को विकास समितिका कर्मचारी र अब प्रतिष्ठानका कर्मचारी पनि भए। तीन थरीको कर्मचारी हुँदा संस्था चल्दैन। सबैको आ–आफ्नो उद्देश्य छ।’

प्रदेशसभाबाटै यो ऐन बनेकाले सभामुख तथा सांसदहरूसँग अनुरोध गर्न प्रदेशसभामा आएको डा. पण्डितले बताए।त्यस्तै, नर्सिङ क्याम्पसमा अध्ययनरत एन्जिला शर्माले प्रादेशिक अस्पताल गए क्याम्पस पनि जाने भएकाले आन्दोलनमा आएको बताइन्। उनले आफूहरू अध्ययन गरिरहेको कोर्स प्रतिष्ठानमा नरहेकाले अब आफूहरू यता न उताको रहेको बताइन्।

मधेस सरकारमातहत रहेको प्रादेशिक अस्पताल प्रतिष्ठान गठनपछि प्रतिष्ठानअन्तर्गत आएको थियो। केही दिनअघि मात्र अस्पतालका मेसुलाई पदमुक्त गरिएको थियो।

प्रतिक्रिया दिनुहोस