छुवाछूत गर्नेलाई कैद, पीडितलाई क्षतिपूर्ति

पत्रपत्रिकाबाट

विहीबार, २४ चैत्र २०७८, ०७ : ४९
छुवाछूत गर्नेलाई कैद, पीडितलाई क्षतिपूर्ति

राजविराज । जातीय छुवाछूतको सिकार भएका दम्पतीले साढे चार वर्षपछि न्याय पाएको छ। सप्तरी जिल्ला अदालतले यही कसूरमा पाँच जनालाई जनही पाँच महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।

पीडितहरूलाई ५०र५० हजार रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने फैसलासमेत अदालतले गरेको छ। पीडित लीलाधर दास तत्माले आफूले ढिलै भए पनि न्याय पाएको प्रतिक्रिया दिएका छन्। ४२ वर्षीय तत्माले भने, ‘न्याय पाउने आस मरिसकेको थियो। ढिलै भए पनि न्याय पाएँ।’ 

तत्माकी पत्नी ३५ वर्षीया दुखनीदेवी दासले अदालतले अभियुक्तहरूलाई दोषी ठहर गरेकोमा सन्तोष जनाइन्। अदालतले आफ्नो पक्षमा फैसला गरे पनि दलितलाई समाजमा फर्किएर सामान्य रूपमा जीवन जिउन गाह्रो रहेको उनले बताइन्।  ‘दोषीलाई कैद सजाय र जरिवाना भर्न लगाएर मात्रै हामीले न्याय पाउँदैनौं। समाजले बराबरी स्वीकार गर्नुपर्छ’, उनले भनिन्, ‘अमानवीय व्यवहार हुने सबै खाले विभेदको चलन हटाउनु पर्छ।’ 

बोदे बर्साइन–८ काचनका लीलाधर र दुखनीदेवी असारी पूजा गर्न २०७४ असार १३ गते साँझ मन्दिर गएका बेला कुटपिटमा परेका थिए। उक्त घटनामा जिल्ला अदालतले सोमबार काचनकै ४५ वर्षीय राजकुमार यादव, ३० वर्षीय काशीन्द्र यादव, ५५ वर्षीय रामचन्द्र यादव, ४२ वर्षीय सकलदेव यादव र ४१ वर्षीय जितेन्द्र साहलाई जातीय छुवाछुतको कसुरमा दोषी ठहर गरेको हो। उनीहरूले ‘तल्लो जात’को भन्दै कुटपिट गरी पूजाको सामान फालिदिएका थिए । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस