काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकारले स्वास्थ्य बीमाको दायरामा सबै नेपाली आउन सके स्वास्थ्योपचारमा सहजता हुने बताएका छन्। बुधबार नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री खतिवडाले यस्तो बताएका हुन्।उनले पत्रकारहरुको स्वास्थ्योपचारको लागि स्वास्थ्य मन्त्रालय, सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासंघबीच समन्वय र सहकार्य गरेर अघि बढ्न सकारात्मक रहेको पनि बताए।
मन्त्री खतिवडाले श्रमजीवि पत्रकारको लागि ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा यसअघिको बजेटमा ल्याइएको भए पनि अहिलेसम्म कार्यान्वयन नहुनुले चिन्तित बनाएको बताए। उनले पत्रकारको हकहितका लागि उचित प्रस्ताव लिएर मन्त्रालयमा आउन पनि महासंघलाई आग्रह गरेका छन्।उनले भने, ‘सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरिसकेको छ। बीमाको दायरामा सबै नेपालीहरु आउने हो भने स्वास्थ्योपचार निकै सहज हुने हाम्रो आँकलन छ।’
त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारको स्वास्थ्योपचारका लागि छुट्टैअस्पताल बनाएर निःशुल्क स्वास्थ्य सेवा दिँदा सरकारको सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने लक्ष्यमा पुग्ने सहज हुने बताए। उनले बजेट भाषणमा निःशुल्क उपचारको कुरा आए पनि बजेट नछुट्याउँदा अझै पत्रकारले निःशुल्क स्वास्थ्य सेवा नपाएको गुनासो गरे।
अध्यक्ष पोखरेलले, ‘हामी क्रमशः काम गर्दै जाने हो भने लक्ष्यमा पुग्छौँ। हामीले जस्तै आर्मी, पुलिस, निजामति कर्मचारी सबैको लागि अस्पताल बनाइएको छ। यसरी पत्रकारको लागि पनि निःशुल्क उपचार पाउने अस्पताल बनाउने हो भने हामी सरकारले भनेको निःशुल्क स्वास्थ्य सेवा दिने लक्ष्यमा पुग्छौँ। बजेट भाषणमा त्यो कुरा आयो पनि तर नीति बन्यो तर रकम नछुट्याएको कारणले त्यो सेवा सुविधा पाउन सकेका छैनौँ।’
नेपाल पत्रकार महासंघले आज स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम एवं प्रभातफेरी कार्यक्रम गरेर ६७ औँ स्थापना दिवस मनाएको छ। यस अवसरमा केन्द्रीय समितिले काठमाडौँको सिनामंगलदेखि सञ्चारग्रामसम्म बिहान प्रभातफेरी, रक्तदान र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।शिविरमा पत्रकारहरूको मिर्गौला परीक्षण र दाँतको परीक्षण तथा उपचार भएको छ। कोभिडका कारण मिडिया क्षेत्रमा परेको असरबारे बहस र नीतिगत समाधानका लागि गर्नुपर्ने प्रयासहरूबारे छलफल गर्ने कार्यक्रम रहेको पनि महासंघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ चैत्र २०७८, १३ : ४६
लेखकबाट थप