काठमाडौं । सरकारले तीन दिनअघि मात्र ६५० मिलिग्रामको सिटामोल उत्पादन गर्ने निर्णय गर्यो । औषधि सल्लाहकार समितिको सिफारिसमा पहिलो पटक नेपालमा ६५० एमजीको सिटामोल दर्ता स्वीकृति दिने निर्णय भएको औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए । ६५० एमजीको सिटामोल उत्पादन स्वीकृति दिने निर्णय गरेसँगै यसको मूल्य र आवश्यकतालाई लिएर बहस चर्किएको छ ।
यस्तो छ नेपालमा सिटामोल उत्पादनको अवस्था
नेपालमा सरकारी मातहतमा रहेको नेपाल औषधि लिमिटेडले ५०० एमजीसम्मको सिटामोल उत्पादन गर्दै आएको छ । निजी क्षेत्रबाट २९ वटा कम्पनीले पारासिटामोल उत्पादनको अनुमति लिएका छन् । तीमध्ये २१ वटाले विभिन्न प्रकारका सिटामोल उत्पादन गर्दै आएका छन् । सरकारी अस्पतालहरुबाट निःशुल्क वितरण हुनेबाहेक नेपाली बजारमा वार्षिक सात करोड चक्की सिटामोल खपत हुने गरेको छ । तीमध्ये २१ वटा नेपाली कम्पनीले उत्पादन गरिरहेका छन् । यसले बजारको ९९ प्रतिशत माग धान्ने गरेको नेपाल औषधि उत्पादक संघको तथ्यांक छ ।
सबै डोजको सिटामोल आवश्यक छ, तर मूल्यको नियमन र नियन्त्रण सरकारले गर्नुपर्छ
नेपाल मेडिकल एसोसिएसन स्वास्थ्यका हिसाबले सिटामोलका सबैखाले डोज उपलब्ध हुनु आवश्यक रहेको बताउँछ । औषधि सल्लाहकार समितिको सदस्यसमेत रहेको एसोसिएसनका अध्यक्ष डा. लोचन कार्की बिरामीको तौल र शारीकि अवस्थालाई हेरेर सिटामोलको डोज निर्धारण गरिने बताउँछन् । उनका अनुसार ४० केजीभन्दा कम तौल भएको व्यक्तिलाई १५ मिलिग्राम प्रतिकेजी सिटामोल दिइन्छ । यो मात्रा व्यक्तिको तौलअनुसार बढ्दै गई अधिक्तम ७५ मिलिग्रामसम्म पनि दिन सकिन्छ । सामान्यत : चार घण्टाको फरकमा दिइने भए पनि व्यक्तिको दुखाई र ज्वरोको मात्रा आधारमा यो मात्रा घटबढ गर्न सकिन्छ । तर, केही व्यक्तिको तौलअनुसार ५०० एमजीको एक चक्की पनि कम हुने र दुई चक्की दिँदा बढी हुने अवस्था पनि आउने गरेको उनी सुनाउँछन् ।
“यस्तो अवस्थामा हामीले डेढ चक्की खान सिफारिस गरिरहेका हुन्छौं, ६५० एमजीको चक्की उपलब्ध भएमा यस्तो ग्याप नरहला भन्ने हाम्रो अपेक्षा हो”, डा. कार्कीले भने । “जहाँसम्म शुल्कको विषय छ, कच्चा पदार्थदेखि उत्पादनसम्मको अवस्था र अन्तर्राष्ट्रिय बजारलाई समेत हेरेर सरकारले मूल्य निर्धारण, नियमन र नियन्त्रण गर्नुपर्यो । मूल्य कम भएर कालोबजारी हुनुभन्दा समसामयिक मूल्य राखेर सहज उपलब्ध गराउनु सरकारको जिम्मेवारी हो,” उनले थपे ।
६५० एमजीको सिटामोल उत्पादन : ‘आउट अफ सिलिङ’
बालबालिकाका लागि उत्पादन हुने सिटामोलको थप डोजहरु उत्पादन गर्दै आएको नेपाल औषधि लिमिटेड अहिले ६५० एमजीको सिटामोल उत्पादन गर्नु आवश्यक नरहेको बताउँछ । लिमिटेडका महाप्रबन्धक जनेरल म्यानेजर मोहम्मद सफिउल्लाह ६५० एमजीको सिटामोल उत्पादन गर्ने सरकारको निर्णयलाई ‘आउट अफ सिलिङ’ (क्षमताभन्दा माथि)को रुपमा व्याख्या गर्छन् ।
नेपालमा ६५० एमजीको सिटामोलबारे पर्याप्त अध्ययन भएको छैन । लिमिटेडले गरेका विभिन्न सर्भेहरूले पनि ६५० एमजीको सिटामोलको आवश्यकता जनस्वास्थ्यमा रहेको देखाएको छैन । भारतबाहेक अधिकांश मुलुकमा ६५० एमजीको सिटामोल प्रयोगमा नै छैनन् भने आम नेपालीको स्वास्थ्यका दृष्टिकोणले यो कति उपयुक्त होला रिसर्च हुनु जरुरी छ । सफिउल्लाह भन्छन्, “मूल्यको विषय आफ्नो ठाउँमा होला तर यी सबै तथ्यलाई हेर्दा अहिलेको हकमा ६५० एमजीको सिटामोल उत्पादन गर्नु आवश्यक देखिँदैन ।”
‘मूल्य बढाउन ६५० एमजीको सिटामोल सिफारिस गरिएको होइन’
औषधि सल्लाहकार समितिमा महत्वपूर्ण भूमिका रहेको नेपाल औषधि उत्पादक संघ मूल्य बढाउनकै लागि ६५० एमजीको सिटामोल उत्पादन गर्ने सिफारिस नगरिएको दाबी गर्छ । संघका महासचिव विप्लव अधिकारी भन्छन्, “६५० एमजीको सिटामोल उत्पादन गर्ने निर्णय गरेसँग जनमानसमा मूल्य वृद्धिका लागि यसो गर्न लागियो भन्ने बुझाइ परेको छ । तर त्यस्तो होइन । ६५० एमजी सँगसँगै पहिले गरिँदै ५०० एमजीसम्मका उत्पादनहरुलाई पनि निरन्तरता दिइनेछ । चिकित्सकहरुले सिफारिस गरेमात्रै ६५० एमजीको सिटामोल दिइने हो ।”
६५० एमजीको सिटामोल उत्पादन गरेमा पनि भारतमा चलनचलल्तीको मूल्यभन्दा बढी मूल्य राखेर बिक्री नगरिने अधिकारीको भनाइ छ । भारतमा कोभिड–१९ को महामारीका दुईवटा लहरमा साढे तीन खर्ब ६५० एमजीको सिटामोल प्रयोग भएको थियो । नेपालमा पनि यसको आवश्यकतालाई हेरेर यस्तो सिफारिस गरिएको अधिकारीको भनाइ छ । ६५० एमजीको सिटामोल उत्पादनका लागि नेपालका निजी क्षेत्रका ४ वटा औषधि उत्पादक कम्पनीले ट्रायल गरिरहेको पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ चैत्र २०७८, १२ : ५१
लेखकबाट थप