काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेस सबै तहका जनता अटाउने पार्टी भएको बताएका छन् ।
सुनसरीको कोसी गाउँपालिका–७ स्थित हरिपुरमा आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उहाँले ‘सबै नेपाली अटाउने देशवासीको साझा घर कांग्रेस हो’ भने । कांग्रेस लोकतान्त्रिक पार्टी भएका कारणले कसैलाई कुनै किसिमले विभेद नगर्ने मन्त्री कार्कीले नवप्रवेसीलाई विश्वास दिलाए ।
पार्टीमा रहेका सम्पूर्ण नेता तथा कार्यकर्ताको योग्यता, योगदान र क्षमताको यो पार्टीले मूल्याङ्कन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले राजनीतिक केवल सपना देखाउने, विकासको अश्वासन बाँड्ने विषयवस्तु नभएको स्पष्ट पारे ।
मन्त्री कार्कीले जनताको अधिकारको रक्षा गर्ने, जनताको समग्र विकासमा र समाज तथा देशको उन्नतितर्फ अग्रसर गराउने कांग्रेस भएको दाबी गरे । जनताको आस्था र विश्वासको धरोधर कांग्रेस सबैभन्दा पुरानो र ऐतिहासिक पार्टी भएको मन्त्री कार्कीले बताए ।
कार्यक्रममा २०७४ सालको स्थानीय तहको निर्वाचनमा सङ्घीय समाजवादी फोरम नेपालबाट कोसी–७ का वडाध्यक्षमा निर्वाचित रामचन्द्र मेहतासहित ३५७ जनाले विभिन्न पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका थिए ।
नवप्रवेशीलाई मन्त्री कार्कीसहित कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति अयुब अन्सारी, पार्टीका सदानन्द मण्डल, सुलेमान मन्सुरी, अनितादेवी यादव, मोहन झासहितका नेता तथा कार्यकर्ताले पार्टीमा स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १३ चैत्र २०७८, २० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेटले विकासतर्फ होइन ऋणको पासोमा लैजान्छ : ज्ञानेन्द्र कार्की