आईपीएल : सन्दिप लामिछानेको डेब्यू, तर दिल्ली बैंग्लोरसँग ५ विकेटले पराजित

आइतबार, ३० बैशाख २०७५, ०९ : १०
आईपीएल : सन्दिप लामिछानेको डेब्यू, तर दिल्ली बैंग्लोरसँग ५ विकेटले पराजित

नेपाली स्पिनर सन्दीप लामिछानेले ‘डेब्यू’मा प्रभावशाली प्रदर्शन गरेपनि दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार जित निकाल्न सकेन । दिल्ली विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्ससँग ५ विकेटले पराजित भएको छ । यो जितसँगै सातौं स्थानको बैंग्लोरले लिगमा ८ अंक जोडेको छ । लिगको ११ खेलमा चौथो जित निकालेको बैंग्लोरको प्ले अफ सम्भावना कायमै रहेको छ ।  प्रतियोगिताबाट बाहिरिसकेको दिल्लीको भने १२ खेलबाट मात्र ६ अंक जोडेको छ । पुछारमा रहेको दिल्लीले १२ खेलमा ९  हार र ३ जित निकालेको छ ।
दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट स्टेडियममा घरेलु टोली दिल्लीले दिएको १८२ रनको लक्ष्य बैंग्लोरले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । बैंग्लोरको एबी डी भिलियर्सले अविजित ७२ तथा कप्तान विराट कोहलीले ७० रनको योगदान दिए । त्यस्तै मन्दिप सिंहले १३ तथा सर्फराज खानले ११ रन जोडे ।

दिल्लीका ट्रेन्ड बोल्टले २ विकेट लिएपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । यस्तै डेब्यु खेलाडी सन्दिपसँगै हार्सल पटेल र अमित मिश्राले समान एक एक विकेट लिए । बैंग्लोरविरुद्ध डेब्यु गर्न पाएका सन्दिपले आफ्नो पुरै ४ ओभर बलिङ गर्दै २५ रन खर्चिएर १ विकेट लिएका हुन् । आईपीएल क्रिकेटको १२ औं खेलमा डेब्यु गरेका सन्दिपले आफ्नो दोस्रो ओभरमा बैंग्लोरका पार्थिव पटेललाई ६ रनमा आउट गरेका थिए  । सन्दिपले ४ ओभरमा १ छक्का र २ चौका मात्र खाएका थिए ।
निकै उत्कृष्ट प्रदर्शन गरेका सन्दिपले भारतीय कप्तान विराट कोहली, दक्षिण अफ्रिकाका एबी डि भिलियर्स जस्ता ब्याट्सम्यानविरुद्ध उत्कृष्ट बलिङ गरेका थिए । सन्दिपको बलमा डि भिलियर्सले एक छक्का प्रहर गरेका थिए । नेपाली यू – १९ टोलीका कप्तान समेत रहेका आईपीएल टोलीमा पर्ने पहिलो नेपाली खेलाडी  हुन् । दिल्लीको प्ले अफ सम्भावना सकिएपछि सन्दिपले पहिलोपटक खेल्ने मौका पाएका हुन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभरमा ४ विकेट गुमाएर १८१ रन बनाएको थियो । दिल्लीका लागि रिशाब पन्तले ६१ रनको अर्धशतकीय पारी खेल्दा अविशेख शर्माले अविजित ४६ रन जोडे । त्यस्तै कप्तान श्रेयस एयरले ३२ रन जोड्दा विजय शंकरले अविजित २० रन बनाए । डेब्यु खेलाडी सन्दिपले ब्याटिङ गर्न भने पाएनन् । बैंग्लोरका युजभेन्द्र चाहलले २ विकेट लिए ।  (एजेन्सी)

प्रतिक्रिया दिनुहोस