रोल्पा । सभामुख कृष्णबहादुर महराले अबको पालो देश समृद्ध बनाउने भएकाले खेल क्षेत्रसमेत यस दिशातर्फ लाग्नुपर्ने बताउनुभएको छ । प्रथम सभामुख कप भलिबल प्रतियोगिताको आज रोल्पाको लिवाङमा शुभारम्भ गर्दै उहाँले खेल क्षेत्रको अनुशासन, तत्परता र लगनशीलता देश विकासका लागि समेत अनुकरणीय हुने बताउँदै उहाँले अनुशासित र स्वस्थ नागरिकले मात्र देश विकासमा योगदान दिन सक्ने बताउनुभयो ।
सभामुख महराले रोल्पामा मिनि स्टेडियम (रंगशाला) बनाउन सकिने सम्भावना रहेको औँल्याउँदै त्यसका लागि आफूले पहल गर्ने बताउनुभयो । उद्घाटन कार्यक्रममा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेको पनि उपस्थिति रहेको थियो ।
राष्ट्रिय खेलकुद परिषदको संयोजनमा जिल्ला खेलकुद विकास समिति, रोल्पाले आयोजना गरेको सो प्रतियोगिता आगामी जेठ २ गतेसम्म चल्नेछ । प्रतियोगितामा सात प्रदेश तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको विभागीय टोलीका महिला र पुरुष गरी २० टोलीको सहभागिता रहेको प्रतियोगिताका कार्यक्रम संयोजक गंगाराम थापाले जानकारी दिनुभयो ।
प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः रु तीनलाख, दुईलाख र एकलाख प्राप्त गर्नेछन् । यसैबीच, प्रतियोगिताअनुसार आज भएको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश नं. ३ लाई २५–२१, २५–१९ र २५–१७ ले पराजित गरेको छ । (रासस)
प्रतिक्रिया दिनुहोस