दमक गोल्डकपको तयारी पूरा

सफल खबर संवाददाता

मंगलबार, ०८ चैत्र २०७८, १४ : २८
दमक गोल्डकपको तयारी पूरा

काठमाडौँ । बुधबारबाट हुने दमक गोल्डकपको तयारी पूरा भएको छ। दमक नगरपालिकाको नगर खेलकुद विकास समितिले आयोजना गरेको गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

दमक–३ स्थित प्रस्तावित मदन भडारी अन्तर्राष्ट्रिय रंगशालामा हुने प्रतियोगितामा चार विदेशी टोलीसहित दश टिमको सहभागिता रहनेछ।प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्बल, त्रिभुवन अर्मी फुटबल क्लब, मनाङ मर्स्याङ्दी फुटबल क्लब, आयोजक दमक–११, बागमती युथ क्लब, गोर्खा ब्वाइज पुलिस क्लब भारत, माने भञ्ज्याङ फुटबल क्लब दार्जिलिङ, दुर्गापुर सन्डे क्लब कोलकात्ता, एमिनियर फुटबल क्लब क्यामरुनको सहभागिता रहने खेल संयोजक मोहन मगरले जानकारी दिए।

बुधबारबाट हुने प्रतियोगिता १८ चैतमा सम्पन्न हुनेछ। बुधबारको उद्घाटन खेलमा आयोजक दमक–११ र बागमती युवा क्लब सर्लाहीबीच खेल हुनेछ।प्रतियोगिताका लागि मैदान सम्याउने, प्याराफिट निर्माणलगायतको काम सकिएको दमक नगर खेलकुद विकास समिति अध्यक्ष भीमराज चौलागाईंले जानकारी दिए। पाँच हजारदेखि सात हजार दर्शक अट्ने प्याराफिट निर्माण गरिएको उनले बताए।

प्रतियोगिताको उद्घाटन प्रदेश सांसद अर्जुन राईले गर्नेछन् भने समापन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने चौलागाईंले जानकारी दिए।प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने छ। सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले नगद २१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस