आईपीएल : चेन्नई सुपर किङ्सलाई ४ विकेटले हराउँदै राजस्थान रोयल्स विजयी

शनिबार, २९ बैशाख २०७५, ०९ : ३६
आईपीएल : चेन्नई सुपर किङ्सलाई ४ विकेटले हराउँदै राजस्थान रोयल्स विजयी

इण्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्सलाई शुक्रबार ४ विकेटले हराएको छ ।  यस जितका साथ राजस्थानले  प्ले अफमा पुग्ने सम्भवनालाई जीवित राखेको छ । तर, चेन्नई हारका वावजुद १४ अंकसहित दोस्रो स्थानमा छ । छैटौं स्थानमा यथावत रहेको राजस्थानको १० अंक पुगेको छ ।

१ सय ७७ रनको लक्ष्य पछ्याएको राजस्थानले ओपनर जोस बटलरको उच्च प्रदर्शनसँगै ६ विकेटको क्षतिमा आवश्यक रन जोडेको थियो । अविजित रहँदै बटरलले ९५ रनको योगदान गरेका थिए । ६० बल खेलेका उनले ११ चौका र २ छक्का प्रहार गरे । स्टुवार्ट बिन्नीले २२, सञ्जु सामसनले २१, कृष्णप्पा गोथमले १३ र बेन स्टोक्सले ११ रन जोडेका थिए ।

चेन्नईका डेभिड विली, हरभजन सिंह, रविन्द्र जडेजा, सदृल ठाकुर र ड्वायन ब्राभोले समान १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले सुरेश रैनाको अर्धशतकसँगै निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको छ । सामूहिक प्रदर्शन गर्ने क्रममा ओपनर शेन वाट्सनले ३९, कप्तान महेन्द्र सिंह धोनीले अविजित ३३, साम बिलिङ्सले २७ र अम्बाटी रायडुले १२ रन बनाएका थिए ।

रैनाले ३५ बल खेल्दै ६ चौका र १ छक्काको मद्दतमा टोलीका लागि सर्वाधिक ५२ रन बनाए । ३१ बल खेलेका वाट्सनले २ छक्का र २ चौका प्रहार थरे । त्यस्तै धोनीले २३ बलमा १ छक्का र १ चौका प्रहार गरे । राजस्थानका जोफ्रा आर्चरले २ र इश सोदीले १ विकेट लिए । आइपिएलमा शनिबार किङ्स ११ पञ्जाब र कोलकता नाइट राइडर्स तथा दिल्ली डेयरडेभिल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ । अंकसहित शीर्षस्थानमा रहेको सनराइजर्स हैदराबाद प्ले अफका लागि छनोट भइसकेको छ । - (एजेन्सी)

प्रतिक्रिया दिनुहोस