त्रिविलाई उच्च शिक्षा सुधार केन्द्रको रुपमा विकास गर्छौँः शिक्षामन्त्री पौडेल

सफल खबर संवाददाता

मंगलबार, ०१ चैत्र २०७८, १४ : ५०
त्रिविलाई उच्च शिक्षा सुधार केन्द्रको रुपमा विकास गर्छौँः शिक्षामन्त्री पौडेल

काठमाडौँ ।  शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले त्रिभुवन विश्वविद्यालयलाई नेपालको उच्च शिक्षा सुधार केन्द्रको रुपमा विकास गर्ने बताए।

उच्च शिक्षामा रहँदै आएको परीक्षा प्रणाली, पठनपाठन, शिक्षण सिकाइ प्रक्रिया र विश्वविद्यालयको भौतिक संरचनालाई समेत परिमार्जन गर्ने गरी विश्वविद्यालयलाई सुधार केन्द्र बनाउने मन्त्रालयमा छलफल भएको शिक्षामन्त्री पौडेलले बताए।मंगलबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्ताकालयको भवन शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले उच्च शिक्षा सुधारको लागि त्रिभुवन विश्व विद्यालयले अग्रसरता देखाउनु पर्ने बताए। मन्त्री पौडेलले सरकारले ७५३ वटै स्थानीय तहमा प्राविधिक शिक्षा पुर्‍याउने गरी काम गरिरहेको बताए।

उनले भने, ‘सरकारले उच्च शिक्षालाई आमूल रुपमा सुधार गर्ने संकल्प गरेको छ। उच्च शिक्षाको परीक्षा प्रणाली, पठनपाठन,शिक्षण सिकाइ प्रक्रिया, त्रिभुव विश्वविद्यालयका भौतिक निर्माण, कोषलाई परिमार्जन गरेर यो विद्यालयलाई सेन्टर अफ एक्सिलेन्सीको रुपमा अगाडि बढाउने शिक्षा मन्त्रालय छलफलमा लागेको छ। त्यसको लागि त्रिभुवन विश्वविद्यालयलाई निकै मेहनत गरेर अगाडि बढ्न आग्रह छ। विश्वविद्यालयमा रहेका समस्या वार्ता, सहमति र सहकार्यमार्फत समाधान गर्ने प्रध्यापक तथा विद्यार्थीको जिम्मामा छ।’

मन्त्री पौडेलले थपे, ‘सबै प्राध्यापक तथा विद्यार्थी संगठनहरुले विश्वविद्यालय सुधार गर्न सहयोग गर्नुहोला र विश्वविद्यालयलाई प्रध्यापक तथा विद्यार्थी वा कर्मचारीका जायज मागलाई सम्बोधन गरेर वार्ताको माध्यमबाट समाधान गर्न अनुरोध छ। नेपालको शिक्षा प्रणालीलाई सुधार गर्न उच्च शिक्षा, माध्यमिक शिक्षा र प्राविधिक शिक्षा सुधार गर्नु पर्नेछ। सरकारले देशमा ७५३ वटा स्थानीय तहमा प्राविधिक शिक्षा पुर्‍याएर दक्ष प्राविधि जनशक्ति तयार गर्ने र उत्पादित जनशक्तिलाई रोजगारमा जोड्ने र शिक्षालाई सीपसँग र सीपलाई रोजगारसँग जोड्ने गरी हामीले प्रक्रिया अगाडि बढाएका छौँ।’

त्यस्तै मन्त्री पौडेलले शिक्षा क्षेत्रबाट नेपालबाट वार्षिक खर्बौं रुपैयाँ बाहिर जाने गरेको बताए। उनले विदेशबाट आउने रेमिटेन्सको हिसाब गर्ने तर नेपालबाट बाहिर गएको पैसाको हिसाब नगर्ने भएकाले अर्थतन्त्र रेमिटेन्सको भर पर्नु परेको दाबी गरे।

नेपालबाट उच्च शिक्षा अध्ययनको लागि अर्बौं रुपैयाँ जाने गरे पनि नियन्त्रण गर्न नसकिएको मन्त्री पौडेलले बताए। उनले नेपालमा नै गुणस्तरीय शिक्षा अध्ययन गर्ने वातावरण बनाउनु आवश्यक भएको बताए।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय २०७२ सालको भुकम्पले क्षतिग्रस्त बनेको थियो। उक्त पुस्तकालय बनाउन भारत सरकारले ५० करोड अनुदान दिएको छ। हालको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवनको सन् १९६७ मा भारत सरकारको सहयोगमा निर्माण भएको थियो।

शिलान्यास कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले यो परियोजना भारत र नेपालबीचको बहुपक्षीय एवं बलियो विकास साझेदारीको प्रमाण भएको बताए।

 

प्रतिक्रिया दिनुहोस