इन्जिनियरिङ अध्ययनमा छानिए ५ विदेशी

सफल खबर संवाददाता

सोमबार, २३ फागुन २०७८, १६ : ११
इन्जिनियरिङ अध्ययनमा छानिए ५ विदेशी

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान आईओईले लिएको प्रवेश परीक्षामा ५ विदेशीसहित ६ हजार ८ सय ४ जना उत्तीर्ण भएका छन् । प्रवेश परीक्षामा १० हजार ५ सय ७३ जना सहभागी थिए ।

संस्थानका सहायक डिन तथा प्रवेश परीक्षा बोर्डका अध्यक्ष ज्ञानबहादुर थापाका अनुसार प्रवेश परीक्षामा ६ जना विदेशी सहभागी भएकामा पाँच जना उत्तीर्ण भएका छन् । उनीहरू सार्क मुलुकका हुन् ।

आईओईले ‘ब्याचलर अफ इन्जिनियरिङ ९बीई०’ र ‘ब्याचलर अफ आर्किटेक्चर ९बीआर्क०’ अध्यापन गराउँदै आएको छ । इन्जिनियरिङअन्तर्गत ५ आंगिक र १० सम्बन्धन प्राप्त क्याम्पस छन् । आंगिकतर्फ २ हजार ४० र सम्बन्धन प्राप्त कलेजमा २ हजार ३ सय ४ गरी ४ हजार ३ सय ४४ जनाको कोटा छ । त्यसैले ‘मेरिट’ सूचीमा परेका सबैले मौका भने पाउने छैनन् । विदेशी विद्यार्थीले आंगिक क्याम्पसमा पढ्न पाउँछन् ।

यस वर्षको प्रवेश परीक्षामा धनुषाका निराजन साह सर्वोत्कृष्ट भएका छन् । जनकपुर उपमहानगरपालिका–२१ स्थित सामान्य कृषक परिवारका साहले एसईईमा ३ दशमलव ७५ जीपीए प्राप्त गरेका थिए । उनले राजधानीस्थित क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर ९सीसीआरसी० मा कक्षा १२ पढेका थिए । कक्षा ११ को प्रवेश परीक्षामा उत्कृष्ट भएकाले साहले पूर्ण छात्रवृत्तिमा सीसीआरसीमा पढेका थिए । उनले कक्षा १२ मा ३ दशमलव ७१ जीपीए ल्याएका थिए । उनले इन्जिनियरिङ प्रवेश परीक्षामा १ सय ४० मा १ सय ३७ दशमलव ८ स्कोर हासिल गरेका छन् । उनले भने, ‘अब कम्प्युटर साइन्स पढ्छु ।’ आईओईको प्रवेश परीक्षामा रौतहटका नीरजकुमार यादव दोस्रो र गुल्मीका प्रतीक अर्याल तेस्रो भएका छन् । गुल्मीकी बिन्दु पौडेल छात्रातर्फ उत्कृष्ट भएकी डिन कार्यालयको प्रवेश परीक्षा बोर्डले जनाएको छ ।

सहायक डिन थापाका अनुसार इन्जिनियरिङअन्तर्गत सिभिल, आर्किटेक्चर, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स कम्युनिकेसन एन्ड इनफर्मेसन, मेकानिकल, कम्प्युटर, एरो स्पेस इन्जिनियरिङ, एग्रिकल्चर, इन्डस्ट्रियल, जियोमेटिक्स, अटोमोबाइल इन्जिनियरिङ र केमिकल इन्जिनियरिङ पढाइ हुन्छ ।


 

प्रतिक्रिया दिनुहोस