आइपीएल : शीर्षस्थानको सनराइजर्स हैदराबादसँग रोयल च्यालेन्जर्स बैंगलोर ५ रनले पराजित

मंगलबार, २५ बैशाख २०७५, १० : ०२
आइपीएल : शीर्षस्थानको सनराइजर्स हैदराबादसँग रोयल च्यालेन्जर्स बैंगलोर ५ रनले पराजित

शीर्षस्थानको सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपीएल)मा सोमबार रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ रनले हराएको छ । १ सय ४७ रनको विजय लक्ष्य पछ्याएको बैंगलोरले ६ विकेटको क्षतिमा १ सय ४१ रन बनाएको थियो । हारपछि बैंगलोरको शीर्ष ४ मा पर्ने सम्भावना कमजोर भएको छ । १० खेलमा ८ खेल जितेको हैदराबादको १६ अंक पुगेको छ । अन्तिम बलमा जितका लागि ६ रनको आवश्यकता रहेको अवस्थामा भुवनेश्वर कुमारले कोलिन डी ग्रान्डहोमेको विकेट लिएपछि हैदराबाद विजयी भएको थियो ।

कप्तान विराट कोहलीले ३९, ग्रान्डहोमले ३३, मन्दीप सिंहले अविजित २१, पार्थिव पटेलले २० र माइन अलिले १० रन जोडे । हैदराबादका सकिब अल हसनले २, सन्दीप शर्मा, भुवनेश्वरकुमार, सिद्धार्थ काउल र रसिद खानले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको हैदराबाले काने विलियम्सनको अर्धशतकसँगै निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ४६ रनको मध्यम स्कोर बनाएको थियो । तेस्रो नम्बरमा ब्याटिङ गरेका विलियम्सन र पाँचौ नम्बरमा ब्याटिङ गरेका सकिब अल हसनबाहेक टोलीका अन्य कुनै पनि ब्याट्सम्यानले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् ।

३९ बल खेलेका विलियम्सनले ५ चौका र २ छक्कासहित ५६ रन बनाए । सकिबले ३२ बलमा ५ चौकासहित ३५ रन जोडे । ओपनर शिखर धवनले १३ र युसुफ पठानले १२ रन बटुले । बैंगलोरका लागि टिम साउथी, मोहम्मद सिराजले समान ३, उमेश यादव र युजभेन्द्र चाहलले समान १ विकेट लिएका थिए । आइपिएलमा मंगलबार राजस्थान रोयल र किङ्स ११ पञ्जाबले बीच प्रतिस्पर्धा हुनेछ । पञ्जाब १२ अंकसहित तेस्रो र राजस्थान ६ अंकसहित पुछारमा छ । -एजेन्सी

प्रतिक्रिया दिनुहोस